
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेश सांसद अक्कल रावललाई जिल्ला अदालत कैलालीले ४ दिनको म्याद थपेर अनुसन्धान गर्न आदेश दिएको छ ।
धनगढीको उत्तरबेहडी बस्दै आएकी एक महिलाले आफूमाथि बलात्कार प्रयास गरेको उजुरी दिएपछि रावल पक्राउ परेका थिए ।
बुधबार अबेर प्रहरीले नियन्त्रणमा लिएका रावललाई बिहीबार म्याद थप्न जिल्ला अदालत लगिएको थियो ।
“अदालतसँग १० दिन म्याद थपको आदेश माग गरेका थियौं, चार दिन म्यद थपेर अनुसन्धान गर्न आदेश दिएको छ” प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले भने ।
रावल मामा नाता लगाउँदै आफ्नो कोठामा आएको पीडित महिलाले बताएकी छिन् ।
रावलले ती महिलालाइ आफै फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएका थिए । तीनपटक रिक्वेस्ट पठाएपछि एसेप्ट गरेकी महिला र रावलबीच फेसबुक मै गफ हुन थाल्यो ।
भान्जी साइनो लगाएर कुराकानी हुन थालेपछि महिलाले आफू बस्ने ठेगाना बताएकी थिइन् ।
रावलले माघ २१ गते ती महिलाको कोठामा गई उनलाई बलात्कार प्रयास गरेका थिए । महिला पाँचमहिने गर्भवती छिन् ।अन्नपूर्ण पोष्ट दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस्