काठमाडौँ । सरकारमा रहेका दलहरू स्थानीय तहको निर्वाचनलाई छायामा पार्दै संघीय संसद्को निर्वाचनका पक्षमा देखिएका छन्। नेकपा एमालेले संसद् चल्न नदिएको बहानामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ९एस० स्थानीय तहको निर्वाचन रोकेर भए पनि संघीय संसद्को निर्वाचन गर्नुपर्ने पक्षमा देखिएका हुन्।
सरकारले संविधानअनुसार स्थानीय तहको निर्वाचन मिति तोकेपछि पनि यी दुई दलका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले एमालेकै कारण संसद् चल्न नसकेको हुँदा संसदीय निर्वाचन गर्नुपर्ने तर्क गरेका छन्। एमाले पनि यो संसद्को औचित्य नभएको भन्दै ‘अर्ली इलेक्सन’ को पक्षमा रहेका बेला माओवादी र नेकपा एस पनि त्यही बाटोमा देखिएका हुन्। एमाले नेतृत्वको सरकारले एक वर्षअघि नै संसदीय निर्वाचनमा जानुपर्ने भन्दै संसद् विघटन गरेको थियो।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को कार्यकाल नसकिई मध्यावधि निर्वाचन घोषणा गरेकोमा असहमति जनाउँदै हालको चारदलीय गठबन्धनले सर्वोच्च अदालतबाट परमादेश लिई सरकार बनाएको हो।भदौयता निरन्तर संसद् अवरुद्ध भएपछि माओवादी र नेकपा एसले पनि अर्ली इलेक्सनको बाटो नै उपयुक्त देखेका हुन्। ‘माओवादी केन्द्रलाई गठबन्धन भत्केला भन्ने चिन्ता छ, एस पार्टीलाई सबै स्थानमा उम्मेदवार नपुग्लान् कि भन्ने चिन्ता छ। स्थानीय तहको निर्वाचन अलि पर धकेलिए एस पार्टीका लागि संगठन गर्ने अवसर प्राप्त हुने थियो। माओवादीलाई पनि संगठन परिचालनमा थप मद्दत पुग्ने थियो’, गठबन्धनमा रहेका एक नेताले भने।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्