Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


डडेल्धुरा कांग्रेस मिलाउन देउवाद्वारा छलफल सुरू


273
Shares

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेताहरूबीच देखिएका द्वन्द्व समाधान गरेर पार्टीलाई एकढिक्का बनाउन छलफल शुरू गर्नुभएको छ ।

तर, पार्टी संगठनमा बलियो प्रभाव भएका मल्ल पक्षीय जिल्लास्तरीय नेता कार्यकर्ता भने सभापति देउवाले अन्यायमा परेका नेता कार्यकर्तालाई न्यायको अनुभूति हुने किसिमले टिकट वितरण गरिए मात्रै डडेल्धुरामा पार्टी एकताबद्ध हुने बताउँछन् । स्थानीय तह निर्वाचनमा पार्टी एकताबद्ध हुन नसकेमा सातवटै स्थानीय तहमा पराजय भोग्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेपाली कांग्रेस डडेल्धुराका नेता कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् ।

डडेल्धुराको सातौं जिल्ला अधिवेशन एकलौटी रूपमा सम्पन्न गराएर कांग्रेस डडेल्धुराका तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्ललाई राजनीतिबाटै ‘बाइपास’ गराउन खोजेका प्रधानमन्त्री देउवाले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै जिल्लास्तरीय नेतासँग एकताको परामर्श थाल्नुभएको हो ।

डडेल्धुराको पाँचौं र छैटौं जिल्ला अधिवेशनबाट निर्वाचित सभापति मल्ललाई महाधिवेशन प्रतिनिधि हुनबाट समेत रोक्ने अभिप्रायले जिल्लाबाट सिफारिस गरेर पठाइएका क्रियाशील सदस्यता केन्द्रबाट फेरबदल गर्न भूमिका खेलेका कांग्रेस सभापति देउवाले तत्कालीन जिल्ला कार्यसमितिको बहिष्कारका बीच एकलौटी रूपमा सातौं जिल्ला अधिवेशन सम्पन्न गराउनुभएको थियो ।

उहाँले नगरपालिकाका प्रमुखसमेत रहेका सुदूरपश्चिम प्रदेशका निर्माण व्यवसायी भीमबहादुर साउदलाई कांग्रेस डडेल्धुराको सभापति बनाउन सघाउनुभएको थियो । छलफलमा सहभागी जिल्लास्तरीय नेताहरूका अनुसार जिल्लास्तरमा क्रियाशील कांग्रेस नेताहरूसँग छलफल शुरु गरे तापनि प्रधानमन्त्री देउवाले मल्ललाई एक्ल्याउने सोचमा परिवर्तन गर्नुभएको छैन ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।