
ध्रुव भट्टराई (इमेज)
विराटनगर, फागुन २१ । ‘कोरोनाभाइरस’ संक्रमणको त्राससँगै प्रदेश नम्बर–१ सरकारले पनि तयारी सुरु गरेको छ ।
सीमानाकामा निगरानीसँगै उपचारको आवश्यक व्यवस्थापनमा प्रदेश सरकार जुटेको हो ।
प्रदेश–१ सरकारले संक्रमितहरुको उपचारका लागि ३१ शय्याको ‘आइसोलेसन वार्ड’ तयार गरेको छ ।
शंकास्पद बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्न चारओटा अस्पतालमा शय्याको व्यवस्था गरिएको सामाजिक विकास मन्त्रलयले जनाएको छ ।
संक्रमणको आशंका गरिएकाहरुलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्न ‘क्वारेन्टाइन’स्थलको खोजी पनि भइरहेको छ ।
नेपालको मुख्य पूर्वी प्रदेशद्वार काँकडभिट्टा, विराटनगरको रानी, इलामको पशुपतिनगर र झापाको भद्रपुरमा विशेष निगरानीको थालनी गरेको छ । ती प्रवेशद्वारमा सहायताकक्ष निर्माण गरी परामर्शको काम भइरहेको छ ।
कोरोनाभाइरसको त्रास फैलिएसँगै बजारमा मास्कको अभाव देखिन थालेको छ ।
व्यापारीहरुले कालोबजारीका लागि मास्क लुकाउने गरेकाले सो कार्य तत्काल बन्द गर्न अनुगमनसमेत गरिने भएको छ ।
नेपाल भित्रिने विदेशी नागरिकको निगरानी र शंका लागेमा उनीहरुलाई आवश्यक स्वास्थ्य परीक्षण गरिने प्रबन्ध पनि मिलाइएको छ ।
कोरोनाको संक्रमण फैलिन नदिन र रोकथामका लागि प्रदेश सरकार अहिले पूर्वतयारीमा जुटेको हो ।
कोरोनाको संक्रमण रोक्न तथा सावधानी अपनाउन भन्दै प्रदेश–१ सरकारले ‘टास्क फोर्स’समेत गठन गरेको छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत् प्रदेश स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा गठित टास्क फोर्सले कोरोना संक्रमण रोक्न सरोकारवाला सबै निकायसँग समन्वय गरी आवश्यक कदम चाल्ने छ ।
प्रतिक्रिया दिनुहोस्