Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


कांग्रेसले कहिल्यै राष्ट्रघात गर्दैन : महामन्त्री शर्मा


351
Shares

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कहिल्यै राष्ट्रघात नगर्ने बताउनुभएको छ । मध्यपुरथिमि–४ बालकुमारीमा बिहीबार नेपाली कांग्रेस मध्यपुरथिमि नगर समितिले आयोजना गरेको प्रथम नगर सम्मेलनको उद्घाटन गर्दै उहाँले एमसीसी राष्ट्रघात हो भन्ने कुरा बेक्कार हो भन्नुभयो ।

उहाँले कुनै पनि देशको सैन्य रणनीति नेपाललाई स्वीकार्य नहुने बताउँदै एमसीसीमा सैन्य रणनीति नरहेको प्रस्ट पार्नुभयो । नेपाल गरिब देश भएकाले सैन्य रणनीतिबाहेक जुनसुकै देशको सहयोग पनि स्वीकारेर देशको विकासमा लगाउनुपर्ने उहाँको धारणा थियो ।‘बानेश्वरको सडकमा एमसीसी मुर्दावाद भनेर कराउने युवाको दोष छैन, फेसबुकमा नो एमसीसी लेख्नेको दोष छैन, जसले यो एमसीसी पास हुनेबित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरे । यो दोष द्वैध चरित्र देखाउने नेताहरूको हो’, शर्माले भन्नुभयो– ‘उहाँहरूले नै पहिले राष्ट्रघाती भनेर भ्रम फैलाउनुभयो । अहिले उहाँहरू नै यसको पक्षमा हुनुहुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले मन्त्रिपरिषद्बाट निर्णय गराएर एमसीसी सम्झौता संसद्मा दर्ता गराउनुभएको हो भन्दै उहाँले संसद्मा नाराबाजी गरिरहँदा कुनै पनि दिन एमसीसी मुर्दावाद नभन्नु, एमसीसीका बारेमा बोल्दै नबोल्नु एमालेको पनि एमसीसीमा समर्थन थियो भन्ने पुष्टि हुने भनाइ राख्नुभयो ।चुनाव अगाडि एमसीसी राष्ट्रघात हुने र चुनावपछि राष्ट्रहित हुन्छ भन्ने पक्षमा कांग्रेस नरहेको भन्दै महामन्त्री शर्माले भन्नुभयो– ‘राष्ट्रघात हो भने त चुनाव अघि गरे पनि पछि गरे पनि राष्ट्रघात नै हो ।’उहाँले नेपालमा पनि युक्रेनमा रूसले गरेजस्तै अवस्था आउन सक्छ भनेर गलत प्रचार गरिएको बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।