काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या देखिएको छ । एक साताअघि मात्र स्थानीयसँग सहमति भएर १२ दिन लामो अवरोध समाप्त भई सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन शुरु भएको थियो । ठेकेदार कम्पनीले काम ढिलो गरेको भन्दै स्थानीयले फेरि हिजो बुधबार दिनभर फोहोर बोकेका सवारीलाई तीनपिप्लेमा रोकेका थिए ।
यही फागुन १ गतेदेखि मुड्खु गेटदेखि तीनपिप्लेसम्मको सडक कालोपत्रे गर्नुपर्ने माग गर्दै आन्दालनमा उत्रिएका स्थानीयले १२ दिनसम्म बाटो बन्द गरेपछि फोहोर व्यवस्थापन ठप्प भएको थियो । ठेकेदार कम्पनी शैलुङ कन्ट्रक्सनले फागुन १२ गते चैत महिनाभित्र मुड्खु गेटदेखि तीनपिप्लेसम्मको सडक कालोपत्रे गरिसक्ने र बाँकी क्षेत्रसमेत नियमित कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको थियो ।
तारकेश्वर नगरपालिका–३ का अध्यक्ष मनोहरि तिवारीले काममा फेरि सुस्तता आएका कारण फोहोर रोकेको बताउँदै भन्नुभयो– ‘ठेकेदारले सम्झौता गरेअनुसार काम नगरेका कारण तीनपिप्लेमा फोहोर रोकिएको हो । यही अवस्था रहे फोहोर विसर्जन गर्न दिँदैनौं ।’ उहाँले ठेकेदारले मनपरी गरेका कारण समस्या बढ्दै गएको टिप्पणी गर्दै तोकिएकै समयमा बाटो नबनाए फेरी फोहोर रोक्न जनता सडकमा उत्रने चेतावनीसमेत दिनुभयो ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्