५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


मणिग्राम औद्योगिक करिडोरका २२ ठूला उद्योग संकटमा, बन्द गर्ने उद्योेगीको चेतावनी


52
Shares

-दीपक घिमिरे / ईमेज  

भैरहवा । भैरहवा–बुटवल सडकखण्डअन्तर्गत पड्सरी मणिग्राम औद्योगिक करिडोरका २२ ठूला उद्योग संकटमा परेका छन् ।

विद्युत् प्राधिकरणले आफूहरुलाई जानकारी नै नदिई महंगो दरको ट्रंक लाइन जडान गरेर करोडौँ रकमको बक्यौता बिल पठाएको भन्दै उद्योगीहरुले आपत्ति जनाएका हुन् ।

भैरहवा– बुटवल सडकखण्डमा मगिग्राम औद्योगिक करिडोरमा ३० अर्ब रुपैयाँको लगानीमा २२ ठूला उद्योग रहेका छन् ।

विद्युत् प्राधिकरणले उद्योगलाई ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको भन्दै छुट महसुल बुझाउन फागुन ८ गते  ३५ दिने सूचना जारी गरेपछि उद्योगीले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

प्राधिकरणले ट्रंक लाइनमार्फत विद्युत् आपूर्ति गरिएको दाबी गर्दै उद्योगलाई साविककोभन्दा ६६ प्रतिशत बढी महसुल बुझाउने अल्टिमेटम दिएको छ ।

करिडोरअन्तर्गतको यशोदा फुड्स प्रालिका प्रबन्धक मधुसुदन घिमिरे भने आफूहरूले ट्रंक लाइन नमागेको र प्राधिकरणसँग पनि सम्झौता नभएकाले थप रकम बुझाउन नसकिने धारणा राख्छन् ।

ट्रंक लाइनको प्रयोग गरेबापत विद्युत् प्राधिकरणले भुक्तानीका लागि ३५ करोड रुपैयाँभन्दा बढी बक्यौताको बिल पठाएको उद्योगीको भनाइ छ ।

विगतमा ३३ केभिए लाइनबाट सञ्चालित हुँदै आएका उद्योगमा प्राधिकरणले आफूखुसी उच्च दररेटको लाइन जडान गरेकाले आफूहरुलाई मान्य नहुने उनीहरुको भनाइ छ ।

आफूहरुले माग नै नगरेको ट्रंक लाइनको महसुल कुनै हालतमा तिर्न नसकिने भन्दै जबरजस्ती गरे उद्योग नै बन्द गर्ने उद्योगी चन्द्रमान श्रेष्ठको चेतावनी छ ।

यता, नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले प्राधिकरणले पिक आवरमा उद्योग बन्द गर्न भनिए पनि विद्युत् नियमित गरिएकाले ट्रङक लाइनबापतको विलिङ गरिएको दाबी गर्छन् ।

उद्योग नै बन्द हुनसक्ने स्थितितर्फ ध्यान दिँदै सरकारले उद्योगीका जाजय चासोलाई सम्बोधन गर्नुपर्ने देखिन्छ ।