काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । रुस र युक्रेनबीच युद्ध सुरु भएपछि तेलको मूल्य उकालो लागेको हो ।
बुधबार प्रतिव्यारेल ९४.१२ अमेरिकी डलर रहेको कच्चा तेलको मूल्य शनिबार १०५ डलर पुगेको छ । दुई देशबीचको द्वन्द्व अझै चर्कने देखिएकाले इन्धनको मूल्य अझै बढ्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा समेत त्यसको प्रत्यक्ष असर पर्नेछ, किनभने नेपालमा खपत हुने सबै प्रकारको इन्धन आयात हुन्छ । नेपाल आयल निगमले भारतीय आयल निगमबाट इन्धन खरिद गरेर नेपाली बजारमा बिक्री गर्छ । स्वचालित मूल्य प्रणाली अनुसार निगमले स्थानीय बजारमा इन्धनको मूल्य निर्धारण गर्दै आएको छ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेर आएको भन्दै विगत एक वर्षदेखि स्थानीय बजारमा लगातार मूल्य बढाइरहेको छ । अघिल्लो वर्ष फागुन ४ मा पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ रहेकोमा हाल बढेर १४५ पुगेको छ । यस्तै, सो अवधिमा डिजेल प्रतिलिटर ९७ रुपैयाँ रहेकोमा अहिले बढेर १२८ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले नेपालमा थप असर पुग्ने देखिन्छ ।
यो समाचार आजको कारोबार दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्