३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


खाडीमा कोरोना, नेपालीलाई सतर्क रहन आग्रह


0
Shares

काठमाडौं । नेपालीसहित विदेशी आप्रवासी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरसको संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासहरुले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

हालसम्म त्यहाँ कार्यरत नेपाली कोरोनाबाट संक्रमित भएको खबर आइसकेको छैन ।

खाडीका देशमध्ये बिहीबारसम्म बहराइनमा ३३, कुवेतमा ४५, यूएईमा २१, ओमानमा ४, कतारमा एक जना संक्रमित भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

इरानबाट आएका यात्रुाट कोरोना संक्रमण भएपछि ती देशले इरानका सबै उडान बन्द गरेका छन् ।

स्थानीय सरकारले आफ्ना नागरिक, आप्रवासी र यात्रुलाई अनिवार्य मास्क लगाउन, भीडभाडमा नजान भनेकाले त्यहीअनुसार सतर्कता अपनाइएको कुवेतस्थित विमानस्थलमा कार्यरत नेपालीले बताए ।

नेपाली दुतावास बहराइन र कुवेतले कोरोना भाइरसका सम्भावित लक्षणहरुको जानकारीसहित त्यहाँ कार्यरत नेपालीलाई त्यसबाट सतर्क रहन आग्रह गरेको छ ।

बहराइनस्थित दुतावसले सार्वजनिक स्थल, अस्पताल, सिनेमा घर, सार्वजनिक यातायत, सपिङ मलजस्ता भीडभाड हुने ठाउामा सकभर नजान र जानैपरे अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।

उता, साउदी अरबले दुई साता मुस्लिमहरुको पवित्रस्थल मक्का र मदिना प्रवेशमा विदेशीलाई रोक लगाएको छ ।

खाडी क्षेत्रमा बैंक, सपिङ कल, हवाई सेवा, स्कुल, कलेज र सार्वजनिक कार्यक्रमहरु कोभिड—१९ का कारण प्रभावित छन् ।

खाडी मुलुकमा १२ लाखभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । कान्तिपुर दैनिकबाट ।