१ असार २०८१, शनिबार | Sat Jun 15 2024


धौलागिरी अस्पताल निर्माण कार्य सुस्त


52
Shares

बागलुङ । धौलागिरि अस्पताल बागलुङको ‘सी’ ब्लक भवन निर्माण सुरू भएको ८ वर्षपछि बल्ल सम्पन्न हुन लागेको छ ।

ठेकेदार कम्पनीको लापरर्वाहीका कारण तीन वर्षमा निर्माण सक्ने सम्झौता भए पनि अस्पतालको भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन लागेको हो ।

सुविधा सम्पन्न भवन निर्माण समयमै नसकिँदा अस्पतालले दिने सेवा प्रभावित बन्दै आएको छ ।

पटक–पटक ठेकेदार कम्पनीले म्याद थप्दै सम्पर्कविहीन हुँदै आएकोमा अस्पताल भवन अहिले अन्तिम चरणमा पुगेको धौलागिरि अस्पताल बाग्लुङले जनाएको छ ।

अस्पतालको ‘सी’ ब्लक भवन चैत्रभित्रै अस्पताललाई हस्तान्तरण गर्ने गरी तयारी गरेको धौलागिरि अस्पताल बाग्लुङका मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले जानकारी दिनुभयो ।

वि.सं. २०७० असारमा तीन वर्षमा निर्माण सक्ने गरी सुरू भएको ४० कोठे अस्पताल भवन तीन पटक म्याद थप्दा थप भइसकेको छ । अस्पतालको जग्गा, विद्युत पोल र कोरोनालाई देखाएर निर्माण व्यवसायीले अस्पताल भवन सम्झौता भन्दा पाँच वर्ष ढिला काम सम्पन्न गर्न थालेको छ । निर्माण सुरू भएको आठ वर्षमा बल्ल अस्पताल भवन निर्माण सकिने भएको हो ।

जिल्ला अस्पतालबाट ५० शैयाको अस्पतालमा रुपान्तरण भएपछि भवन निर्माण सम्पन्न नहुँदै दुई सय शैयामा स्तरोन्नती गर्न प्रदेश सरकारले योजना अघि सारेको छ ।

यद्यपी २०० शैयाको अस्पताल बनाउन अहिलेको भौतिक संरचाना र जग्गा अपुग हुँने अस्पतालको निष्कर्ष रहेको छ । अहिले गण्डकी प्रदेश सरकारले २०० शैयाको अस्पताल बनाउन विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइरहेको छ ।

वि.सं. २०६४ मा शुरु भएको ‘ए’ ब्लक र २०६६ सालमा शुरु भएको ‘बी’ निर्माण सम्पन्न भएर हस्तान्तरण भई सेवा प्रदान गरे पनि ‘सी’ ब्लक भवन भने अस्तव्यस्त बन्दै आएको थियो ।