काठमाडौं । नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिनुभयो । सचेतक भुसालले आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताउनुभयो ।
हाल प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका ६३ जना सांसद छन् । तीमध्ये दुईजना निलम्बित छन् । सांसद प्रदीप गिरी उपचारका क्रममा भारतमा हुनुहुन्छ ।
यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
यस्तै, लोसपाले आजको संसद बैठकमा एमसीसीबारे छलफल हुने भएकाले आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशनसमेत दिएको छ । प्रतिनिधिसभामा लोसपाका १३ जना सांसद छन् ।









प्रतिक्रिया दिनुहोस्