Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


रापबोर्ड नियमावली पहिलो संशोधन : छिटो प्रक्रिया पूरा गर्ने प्रदेशको छिट्टै नतिजा


156
Shares

काठमाडौं । यो वर्षको एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलोपटक राष्ट्रिय परीक्षाबोर्डको नियमावली–२०७६ संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री परिषद्मा पठाएको परीक्षा बोर्डको नियमावली स्वीकृत भई राजपत्रमा प्रकाशित भएको छ । सोही नियमावलीअनुसार यो वर्षको एसईई परीक्षाको सम्पूर्ण अधिकार प्रदेश सरकारमा हस्तान्तण भएको छ । रापबोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार नियमावली संशोधन भएसँगै सबै अधिकार प्रदेश सरकारमा हस्तान्तरण भएको छ, बोर्डले लब्धाङ्कपत्रमा प्रमाणीकरण गर्ने अधिकार मात्र पाएको छ । शर्माले भन्नुभयो– ‘यसै वर्षदेखि परीक्षाको उत्तरपुस्तिका परीक्षण, टेबुलेसन, कोडिङ, डिकोडिङलगायत सबै प्रदेशले गर्नेछ ।

बोर्डले यो वर्ष प्रश्नपत्र छपाइ गरी प्रत्येक प्रदेशमा पठाएपछि परीक्षाको सम्पूर्ण काम प्रदेश सरकारले गर्नेछ ।’ लामो समयको प्रयासपछि बल्ल एसईई परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्न पाएको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘यसले गर्दा संघ, प्रदेश र स्थानीय तहको सहअस्तित्व कायम गर्न सफल भएका छौं ।’ तर, यसले प्रदेशबीच कसले चाँडै परीक्षा सकेर परीक्षाफल प्रकाशित गर्ने भन्ने विषयमा होडबाजी चल्ने देखिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।