
काठमाडौं, फागुन ११ । पूर्ण सरकारी स्वामित्वको बिमा प्रदायक राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५ औं वर्षमा प्रवेश गरेको छ ।
सो अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले प्रतिष्पर्धी बीमा बजारमा माग र समय सुहाउँदा नयाँ वस्तु, आधुनिक प्रविधि र चुस्त व्यवस्थापनबाट कुशल र प्रतिष्पर्धी संस्था बनाउन सुझाव दिनुभयो ।
यस्तै, बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा विश्वसनीयताको बजार भएकोले संस्थानले आफ्नो विगतका कार्य प्रगतिको समिक्षा गरी नेपालको जीवन बीमा बजारको विकास र विस्तारमा महत्वपूर्ण योगदान गर्न सदैव प्रयत्नशील रहने र नेपाल सरकार, बीमा समिति, महालेखा परीक्षकको कार्यालय, लगानीकर्ता लगायतका सरोकारवालाहरुको चासोका रुपमा रहेको लेखा परीक्षण, बीमाङ्कीय मूल्याङ्कन र वित्तीय विवरणलगायतका कार्य यथाशीघ्र सम्पन्न गर्न आग्रह गर्नुभयो ।
देशको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्ने तथा विदेशी मुद्राको व्ययभार रोक्ने उद्देश्यले वि.सं. २०२४ साल पुस १ गते प्राइभेट कम्पनीको रुपमा स्थापना भएको संस्थानले सोही वर्षको फागुन ११ गतेबाट निर्जीवन बीमा तथा २०२९ साल फागुन ७ गतेबाट जीवन बीमाको कारोबार शुरु गरेको थियो ।
लामो समयसम्म जीवन बीमा र निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएकोमा २०७१ सालमा निर्जीवन बीमाकाृ कारोबार राष्ट्रिय बीमा कम्पनीलाई हस्तान्तरण गरी हाल संस्थानले जीवन बीमाको मात्र कार्य गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्