Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


एमसीसीमा एमालेको साथ खोज्दै प्रधानमन्त्री


325
Shares

kp oli sherbahadur deuba meeting

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा पेस भएपछि सत्ता र सत्ताबाहिर रहेका दलका नेताहरूको दौडधुप र भेटघाट बढेको छ।सत्ता गठबन्धनका नेपाली कांग्रेसबाहेक अन्य तीन दलले एमसीसीमा मतदान हुँदा विपक्षमा उभिने अभिव्यक्ति दिइरहेका छन्। यस्तो अवस्थामा एमसिसीको पक्ष र विपक्षमा छलफल गर्न नेताहरू भेटघाटमा सक्रिय भएका हुन्।

सत्ता गठबन्धनका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले मंगलबार संयुक्त छलफल गरेका थिए। मोहन वैद्यले पुष्पकमल दाहाललाई एक्लै भेटेर कुराकानी गरे। त्यस्तै अमेरिकी राजदूतले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट गरे। साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भयो। ओलीसँग एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल पनि बालुवाटार पुगेका थिए।

नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी सदनमा अनुमोदनका लागि मतदान हुँदा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले धोका दिने आशंका गर्दै एमालेसँग पनि संवाद जारी राखेका छन्। यसैक्रममा देउवाले ओलीलाई बालुवाटार बोलाएका हुन्। देउवाले बालुवाटारमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई समेत राखेर एमाले अध्यक्ष ओलीसहितका नेताहरूसँग करिब साढे २ घण्टा छलफल गरे। तर छलफल त्यति सकारात्मक बन्न नसकेको स्रोतको दाबी छ।

कुराकानीका क्रममा प्रधानमन्त्री देउवाले एमसीसी सदनबाट अनुमोदन गर्न ओलीसँग सहयोग मागेका थिए। ओलीले भने आफ्नोे पार्टीले राखेका माग सम्बोधन गरी आफूहरूलाई संसद्मा हुने छलफलमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका थिए।देउवाले माग सम्बोधन गर्न नमानेपछि छलफल सकारात्मक बन्न नसकेको स्रोतको दाबी छ। एमालेले पार्टीको सिफारिसबमोजिम १४ सांसदलाई पदमुक्त गर्नुपर्ने वा सभामुख अग्निप्रसाद सापकोटाले मार्गप्रशस्त गर्नुपर्नेमध्ये एक माग सम्बोधन हुनुपर्ने बताउँदै आएको छ।

नागरिक