काठमाडौं । ‘ब्रेन डेथ’ अर्थात् मस्तिष्कले काम गर्न छाडेर श्वासप्रश्वास बन्द भएको र चेतना पनि लुप्त भएको मृत्युनजिकको अवस्थालाई मेडिकल साइन्सले मृत्यु भएको मान्ने गर्छ । तर, सो अवधिमा समेत मानव शरीरका कतिपय अंगहरूले काम गरिरहेका हुन्छन् । जसलाई आवश्यकताअनुसार २४ घन्टाभित्र शल्यक्रियाको माध्यमबाट अर्को व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । अधिकांशजसो सडक दुर्घटनाबाट मस्तिष्क मृत्युका केस बढी हुने गर्छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच वर्षअघि ‘मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी नियमावली, २०७३’ सार्वजनिक गरेको थियो । नियमावलीमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग लिन सकिने प्रावधान उल्लेख छ । तर, आजसम्म पनि जनचेतनाको कमीका कारण ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग प्रत्यारोपण न्यून मात्रामा भएको प्रत्यारोपण शल्यचिकित्सक डा। पुकारचन्द्र श्रेष्ठ बताउँछन् । ‘अधिकांश मानिसमा ब्रेन डेथबारे जानकारी नै छैन । यसबारे ज्ञान भएकासमेत अन्धविश्वासका कारण मस्तिष्क मृत्युपछि अंग दान दिन चाहँदैनन् । कतिसम्म भने प्रत्यारोपणका लागि अंग पाइहाले पनि मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग लिनसमेत डराउने गरेको देखिएको छ,’ उनले भने ।
मानव अंग प्रत्यारोपणका अनुसार नेपालमा ०७३ देखि कोभिड महामारीको अवधि ९पाँच वर्ष०मा २० जनाले मस्तिष्क मृत्यु भएको जनाएका थिए । जसमध्ये ‘ब्रेन डेथ’ भएका १५ जना व्यक्तिका आफन्तले अंग दान गर्न मानेनन् । एकजनाको शल्यक्रिया गर्नुपर्ने समय सकिएको र अर्को एकजनामा अंग प्राविधिक रूपमा म्याचिङ नभएका कारण अंग लिन नमिलेको केन्द्रले जनाएको छ । बाँकी तीनजनाबाट लिइएको मिर्गौला ६ जनामा सफल प्रत्यारोपण भएको थियो ।
नेपालमा ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट मिर्गौला प्रत्यारोपण सुरु गरेको मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी प्रमुख डा। श्रेष्ठले बताए । ‘एक हजारमध्ये कम्तीमा दुई सयले मात्र मिर्गौला दिन चाहे भने एक वर्षमा चार सयभन्दा बढीले नयाँ जीवन पाउँछन् । जुन हाल देशभरि भइरहेको मिर्गौला प्रत्यारोपणको झन्डै दोब्बर हो,’ उनले भने ।










प्रतिक्रिया दिनुहोस्