काठमाडौँ । नेपाल सरकार र अमेरिकी सहयोग नियोग एमसीसीबीच भएको अनुदान सम्झौता प्रतिनिधिसभामा पेस भएसँगै सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत समाजवादी थप अन्तरविरोधमा परेका छन् ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सम्झौता संसद्मा टेबल गर्न गठबन्धनमा सहमति दिएका छन् भने सहकर्मी वरिष्ठ नेताहरूले आपत्ति जनाएका छन् । दुवै पार्टीका कार्यकर्ता सडकमा पनि उत्रिएका छन् ।
एकीकृत समाजवादीले सम्झौताको विरोध गर्दै आएको थियो भने माओवादीले दोहोरो नीति जारी राखेको छ । शीर्ष नेता सम्मिलित गठबन्धन बैठकले एमसीसी सम्झौता संघीय संसद्मा टेबल गर्ने सहमति गरेको हो । तर सम्झौता टेबल हुँदा माओवादी सांसदहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अञ्जना विशंखेलगायतले उठेर विरोध जनाउँदा अध्यक्ष पुष्पकमल दाहाललगायतका केही सांसद भने बसिरहे । त्यस्तै एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले प्रस्ताव पेस हुँदा उठेर नाराबाजी गर्दै विरोध जनाए । त्यति बेला अध्यक्ष नेपाललगायतका सांसद भने आफ्नो सिटमा बसिरहेका थिए ।
संसद् बैठक सकिएपछि नेता खनालले केही नेता मिलेर गलत नजिर बसाउन लागेको भन्दै आपत्ति जनाए । ‘महाशक्तिको दबाबमा सम्झौतालाई अनुमोदन गर्ने भनेर सरकारले टेबल गर्नु नेपालका लागि लज्जाको विषय हो । सम्पूर्ण नेपाली जनताको शिर निहुरिने काम हाम्रो देशका केही नेताले गर्नुभएको छ,’ उनले भने । यथास्थितिमा एमसीसी सम्झौता संसद्मा टेबल गर्नै नहुने अडान राख्दै आएका खनाल र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई नेपाल र दाहालले गठबन्धनको बैठकमा सहभागी गराएका थिएनन् ।
एकीकृत समाजवादीको स्थायी कमिटीले एमसीसी सम्झौता संसद्मा पेस गर्न दिने तर विपक्षमा उभिने निर्णय शनिबार नै गरेको थियो । नेता खनालले भने पार्टी निर्णयविपरीत सम्झौता संसद्मा टेबल गरिएको दाबी गरे । तर एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले खनालको प्रस्तावअनुसार नै एमसीसी सम्झौतामाथि संसद्मा छलफल गर्ने वातावरण बनाउन पार्टीले निर्णय गरेको बताए ।










प्रतिक्रिया दिनुहोस्