Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


आफन्तबाटै अपहरित दुई बालबालिकाको झापाबाट उद्धार


338
Shares

काठमाडौं । आफन्तबाटै अपहरणमा परेका रुपन्देहीको सैनामैनाका दुई बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ। फागुन ५ गते बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका सैनामैना वडा न।६ का दुई बालबालिकालाई शुक्रबार दिउँसो झापाको विर्तामोडबाट उद्धार गरेर रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए।

घटनामा संलग्न अभियुक्त खिमबहादुर पौडेलाई पक्राउ गरी अदालतमा म्याद थप गरेर अनुसन्धान प्रक्रिया सुरु गरेको केसीले बताए। उद्धार गरिएका १२ वर्षीया बालिका र ९ वर्षीय बालक सकुशल छन्। प्रहरीको संरक्षणमा रहेका उनीहरूलाई अभिभावकको जिम्मा लगाउने प्रहरीले जानकारी दिएको छ।

शनिबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पत्रकार सम्मेलनको आयोजना गरी अपहरण घटनाको बारेमा प्रहरीले जानकारी गराएको छ। पारिवारिक विवादका कारण बच्चाहरू अपहरणमा परेको देखिएको प्रहरीको भनाइ छ।
घटना विवरणअनुसार अभियुक्त खिमबहादुर पौडेल साइबर अपराधमा प्रहरी नियन्त्रणमा थिए। उनलाई आफन्तबाटै उजुरी परेपछि साइबर अपराधमा प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीबाट छुटेपछि उनले नाताले ससुरालीका बच्चाहरूलाई अपहरणमा लिई बदला लिने भाव देखिएको प्रहरीको ठम्याइ छ।

उनले स्कुल जाँदै गरेका दुई बच्चालाई स्कुल बस बाटोमै रोकेर फोटो खिचाउन लैजानु छ भनी लिएर गएका थिए। उनले बुटवल पुर्‍याएर एउटा फेन्सी पसलमा विद्यालयको ड्रेस र स्कुल ब्याग राख्न दिएर झापा लगेको खुलेको छ। फागुन ५ गते बिहीबार बिहान ८ स् ४० बजे स्कुल गएका बालबालिका घर नफर्केपछि खोजीकार्य गरी पाउँ भन्दै बालबालिकाका आफन्तले इलाका प्रहरी कार्यालय रन्यौरामा निवेदन दिएका थिए।

नयाँ पत्रिका