१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


एमसीसी संसद्‌मा पेस गर्न गठबन्धन ‘तयार’


221
Shares

काठमाडौं । संसद् सचिवालयमा साढे दुई वर्षअघि दर्ता भएको एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा पेस गर्न गठबन्धन दलहरू सहमतिनजिक पुगेका छन् । एमसीसीलाई लिएर राष्ट्रिय राजनीति तनावपूर्ण बन्नुका साथै अन्तर्राष्ट्रिय ध्रुवीकरणसमेत देखिन थालेपछि सत्ता गठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा लचिलो हुँदै सम्झौता संसद्मा टेबल गर्न तयार देखिएका हुन् ।

एमसीसी सम्झौतालाई अघि बढाउन गठबन्धन दलहरूबीच बनेको अनौपचारिक समझदारीकै आधारमा शनिबार बसेको एकीकृत समाजवादीको बैठकले यथास्थितिमा अनुमोदन नभए पनि छलफलका लागि सार्वभौम संसद्मा लैजाने निर्णय गरेको छ । एकीकृत समाजवादीका एक नेताले आइतबार बस्ने गठबन्धन बैठकले यसबारे औपचारिक निर्णय गर्ने सम्भावना रहेको बताए । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग परामर्श गरेरै एकीकृत समाजवादीले पछिल्लो निर्णय गरेको ती नेताले बताए । ‘सम्भवतः अबको कोर्स एमसीसी सम्झौतालाई संसद्मा लाने नै हो,’ उनले भने । आइतबार संसद् बैठक पनि बोलाइएको छ ।

माओवादी स्रोतले पनि एमसीसीका विषयमा सरकार, सदन र सडकमा तीव्र ध्रुवीकरण भएर थप जटिलता आउने देखिएकाले आइतबार संसद्मा टेबल गर्ने तयारी रहेको जनाएको छ । ‘एमसीसी विवादले संसद्, सडक र गठबन्धनमा थप विभाजन ल्याउने र त्यसले मुलुकलाई थप समस्यातिर लैजाने जोखिम देखियो,’ स्रोतले भन्यो, ‘त्यसैले एमसीसी सम्झौता संसद्मा टेबल गर्ने तयारी छ । टेबल गरिसकेपछि आआफ्नो निर्णय गरी मत हाल्ने समझदारी गठबन्धनबीच बन्दै छ ।’

एमसीसी संसद्मा टेबल गर्ने निर्णय आइतबारको गठबन्धन बैठकमा हुने माओवादीका एक नेताले जानकारी दिए । उनले एमसीसी सम्झौता अघि बढाएपछि गठबन्धन पनि जोगिने बताए । सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था समितिमा दलहरूबीच सहमति जुटे सम्झौतालाई संसद्मा टेबल गर्ने बताइसकेका छन् । उनले आइतबार पनि कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् ।

कान्तिपुर