Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सत्ता गठबन्धनमा एमसीसी अझै अनिर्णीत


91
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा साझा सहमति जुटाउन बसेको सत्तारूढ गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि बिनानिष्कर्ष टुंगिएको छ । एमसीसीलाई संसद्मा टेबल गराउने विषयमा सत्तारूढ गठबन्धनभित्रै विवाद रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल एमसीसी संसद्मा टेबल गराएर पास गराउने गृहकार्यमा लाग्नु भएको छ ।

तर, सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संशोधनबिना एमसीसी टेबल गराउन नहुने अडान लिँदै आएका छन् । एमसीसी जबरजस्ती संसद्मा टेबल गरे सरकारबाट बाहिरिने चेतावनी प्रधानमन्त्री देउवालाई दिइसकेका छन् । एकीकृत समाजवादीले भने एमसीसीको बारेमा निर्णय लिएको छैन । प्रधानमन्त्री देउवा एमसीसी संसद्मा टेबल गरेर पास गराउने चाहानाका साथ अगाडि बढे पनि माओवादीका अध्यक्ष प्रचण्डका कारण अगाडि बढन सक्नुभएको छैन । एमसीसी टेबल गर्नका लागि संसद्मा सभामुखले एमसीसीलाई कार्यसूचीमा समावेश गर्नुपर्ने हुन्छ । तर, माओवादीको चाहानाविपरीत सभामुख सापकोटा एमसीसीलाई कार्यसूचीमा राख्न तयार हुनुभएको छैन ।

बुधबारकै बैठकमा नै सरकारले एमसीसी टेबल गर्ने गृहकार्य अगाडि बढाएको थियो । तर, माओवादीले जबरजस्ती एमसीसी अगाडि बढाए सरकारबाट बाहिरिने चेनावतीका कारण प्रधानमन्त्री देउवा ब्याक हुनुभएको थियो । संसद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको भेटवार्ताका कारण एमसीसी टेबल हुनबाट रोकिएको थियो ।

सत्ता गठबन्धनबाटै अवरोध भएपछि प्रधानमन्त्री देउवाले गठबन्धनभित्र नै सहमति निर्माण गर्ने प्रयासलाई जारी राख्नुभएको छ । बिहीबार एमसीसी संसद्मा टेबल गर्ने विषयमा बसेको सत्तारूढ गठबन्धनको बैठकमा पनि सहमति जुट्न सकेन । प्रधानमन्त्री देउवाले शुक्रबार बस्ने संसद् बैठकमा एमसीसी टेबल गर्ने प्रस्ताव अगाडि सार्नुभएको थियो । तर, प्रचण्ड माधव नेपालसहितका नेताहरूले संसद्मा एमालेको अवरोध कायमै रहेको अवस्थामा एमसीसी टेबल गर्न नहुने तर्क राख्नुभएको थियो ।

नेपाल समाचारपत्र