काठमाडौं । राजधानीको बाफलमा एक जनाले श्रीमती र सालीमाथि एसिड प्रहार गरेका छन् ।
२९ वर्षी शिव रम्तेलले मदिराको सुरमा राति श्रीमती सुनिता रम्तेल र १५ वर्षीय सालीमाथि एसिड छ्यापेका हुन् ।
प्रहरीका अनुसार ट्वाइलेट सफा गर्न राखिएको कमसल एसिड भएका कारण उनीहरुको कपडा जले पनि शरीरमा ठूलो क्षति हुन पाएन ।
रङ लगाउने काम गर्दै आएका रम्तेल आइतबार कोठात्रि मदिराका सुरमा आएका थिए ।
राति अबेर घर फर्केका उनको श्रीमतीसँग भनाभन भएपछि ट्वाइलेटमा रहेको एसिड ल्याएर छ्यापेका थिए ।
उनलाई रोक्ने क्रममा सालीको आँखा र शरीरमा एसिड परेको छ ।
महानगरीय प्रहरी वृत कालीमाटीका डीएसपी रुगम कुँवरका अनुसार चर्को स्वरमा झगडा भएको खबर टोल फ्री नम्बर एक सयमा आएलगतै प्रहरीले रम्तेललाई कोठाबाटै पक्राउ गरेको थियो ।
कोठाभित्र पुग्दा सुनिताको कपडा एसिडले जलेको थियो । प्रहरीले दुवैलाई तत्काल कंलकीस्थित एक अस्पतालमा पुर्याएको थियो ।
छालामा धेरै क्षति नभएको र सालीको आँखामा एसिडको छिटा परेका कारण अस्पतालले उनीहरुलाई घर पठाइदियो ।
गोरखा घर भई काठमाडौं बस्दै आएका रम्तेल दम्पतिको सम्बन्ध राम्रो नभएको र सामान्य झगडामै श्रीमान्ले रिस फेरेको प्रहरीको प्रारम्भिक अनुमान छ । कान्तिपुर दैनिकबाट ।










प्रतिक्रिया दिनुहोस्