२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


एमसीसी रोक्न प्रधानमन्त्रीलाई प्रचण्ड दबाब


715
Shares

काठमाडौं । समर्थन फिर्ता लिएमा सरकार ढल्न सक्ने चेतावनी दिएर प्रधानमन्त्रीलाई एमसीसी सम्झौताबाट पछि हट्न बाध्य गराउने माओवादी रणनीति प्रधानमन्त्री शेरबहादुर देउवाको पहलबीच पनि एमसीसी सम्झौता बुधबार प्रतिनिधिसभामा टेबल हुन नसकेपछि गठबन्धन विघटनको डिलमा पुगेको छ ।

सत्ता साझेदार माओवादी र एकीकृत समाजवादी सम्झौताविरुद्ध मुखर बन्दै गएपछि प्रधानमन्त्री देउवा विकल्प खोज्नुपर्ने अवस्थामा पुगेका छन् । तर, एमालेले पनि देउवाको पद सुरक्षित गरिदिन एमसीसी अनुमोदन गर्ने संकेत गरेको छैन ।

प्रधानमन्त्री देउवा एमसीसीमा भइरहेको ढिलाइले देशको अन्तर्राष्ट्रिय छवि बिग्रन सक्ने भन्दै फागुन १६ भित्रै अनुमोदन गर्न प्रतिबद्ध छन् । संसद्बाट पारित गरेर एमसीसी सम्झौतालाई सन्धि बराबरको मान्यता दिन नहुने भन्दै माओवादीले औपचारिक निर्णय नै गरेको छ जसमा एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव समूहको समेत मतैक्य छ ।

प्रधानमन्त्रीको पहलमा एमसीसी सम्झौता टेबल भए सत्ता गठबन्धनबाट अलग हुनुपर्ने निर्णय माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठक र संसदीय दलले समेत गरेका छन् । पार्टीको निर्णय सुनाउन र धैर्य गर्न अनुरोध गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल बुधबार बालुवाटार पुगेका थिए । तर प्रधानमन्त्री देउवा भने ‘तपाईं जे गर्नुहुन्छ गर्नुहोस् तर संसद्मा टेबल त गर्न दिनुहोस्’ भन्दै आक्रोशित भएको बालुवाटार स्रोतले बतायो ।

कान्तिपुर