काठमाडौं । नेपाली कांग्रेसले पार्टीका १० वटा भ्रातृ संगठनका केन्द्रीय समिति भंग गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यकाल सकिएका भ्रातृ संगठनहरूका केन्द्रीय समिति भंग गरेको हो। बैठकले स्थानीय तहको चुनवालाई लक्षित गरी संगठन सुदृढ गर्न एक महिने अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
कार्यकाल सकिएका भ्रातृ संगठनहरूको महाधिवेशन गराउने विषयमा कार्यसम्पादन समितिको बैठकमा छलफल भएको थियो। तर स्थानीय तहको निर्वाचनलगायत कारण देखाउँदै बैठकले अहिले महाधिवेशन नगरी १० वटा भ्रातृ संगठनको नयाँ समिति बनाउने निर्णय गरेको छ।
भंग भएका १० वटा भ्रातृ संगठनको नयाँ समिति फागुनभित्र बनाइने भएको छ। भ्रातृ संगठनका नयाँ समिति गठनको अधिकार सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको जानकारी प्रवक्ता प्रकाशशरण महतले दिए। ‘म्याद समाप्त भइसकेका भ्रातृ संस्थाहरू स्वतः विघटन भएकाले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय भएको छ,’ प्रवक्ता महतले भने, ‘समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिइएको छ।’
कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समिति भंग गरेको हो। कांग्रेसको १४औं महाधिवेशनबाट नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतार केन्द्रीय सदस्य निर्वाचित भएका छन्।










प्रतिक्रिया दिनुहोस्