
एजेन्सी । रुसले युक्रेनको सीमामा तैनाथ १ लाख ३० हजार बढी सैनीक फिर्ता गर्न थालेको छ ।
युक्रेनको सीमामा पुगेका रुसी सैनिकमध्ये केही आफ्नो ब्यारेकमा फर्किन थालेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । रुसी समाचार संस्था तासले रक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै दक्षिण तथा पश्चिम मिलिटरी डिस्ट्रिक्टका सैनिकहरु आफ्नो ड्रिल सकेर फर्किन लागेको जनाएको छ ।
सैनिकहरु कोही रेल, कोही गाडी र कोही पैदल फर्किने समाचारमा उल्लेख छ । केही समयदेखि रुसी सैनिकले युक्रेनलाई घेरेपछि रूसले आक्रमण गर्न लागेको भन्दै संसारभरिको ध्यान युक्रेनमा केन्द्रीत भएको थियो ।
अमेरिकालगायत मुलुकहरुले आफ्नो नागरिक र कूटनीतिज्ञलाई युक्रेन छोड्न आग्रह गरेका थिए । रुसले भने युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको थियो । युक्रेनको सीमामा खटिएका कति सैनिक ब्यारेक फर्किएका हुन् भन्नेबारे विस्तृत विवरण आइसकेको छैन । रुसी सैनिकले तीनतिरबाट युक्रेनलाई घेरेपछि पश्चिमा मुलुकहरूले सैन्य र कूटनीतिक दुबै रणनीति अपनाएका थिए ।
अमेरिकी युक्रेनका छिमेकी नेटो सदस्य राष्ट्रहरूमा सैनिक थपेको थियो भने मस्कोसँग कूटनीतिक कुराकानीलाई पनि तीव्रता दिएको थियो । फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रों रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई भेट्न मस्को पुगेका थिए भने अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनसँग एक घन्टा टेलिफोनमा कुराकानी गरेका थिए ।
राष्ट्रपति बाइडेनले रुसले फेबु्रअरीमा युक्रेनमाथि हमला गर्न सक्ने बताएका बेला रुसले आफ्ना सैनिक फिर्ता बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस्