१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


एमसीसी टेबल गर्न सभामुख सापकोटा तयार


468
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा एमसीसी संसद्मा टेबल गर्न तयार भएका छन्। यसमा आफू निर्णायक नभएको, दलहरू नै सर्वेसर्वा भएको सभामुख सापकोटाले बताएका छन्। यसमा दलहरू नै सर्वेसर्वा भएको प्रतिक्रिया उनले दिएका छन्। उनले राष्ट्रिय सहमतिका विषयमा दलहरूलाई सदनमै चर्चा गर्न पनि आग्रह गरेका छन्।

सभामुखकै आह्वानमा सोमबार सिंहदरबारमा सर्वदलीय बैठक बसेको थियो। एमाले भने बैठकमा सहभागी भएको थिएन। ‘राष्ट्रिय महत्वका विषयमा सबै दलबीच सहमति हुनु देशकै लागि राम्रो हो’, सभामुख सापकोटाले भने, ‘उहाँहरूले एमसीसीबारे आआफ्नो धारणा राख्नुभएको छ। म खुला छु। मैले सबैका कुरा गम्भीरतापूवर्क सुनेको छु।’

सापकोटाले सदनको अवरोध खुल्नुपर्छ भन्ने मात्रै आफ्नो भनाइ रहेको बताए। आफू निष्पक्ष भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए। ‘मेरो पहिलादेखिकै जोड भनेको सदन सुचारु हुनुपर्छ भन्ने हो। सभामुखको हैसियतले मैले निष्पक्ष भूमिका निभाउनुपर्छ भन्नेमा म सचेत छु’, उनले भने, ‘सदन खुलाउनुपर्छ भन्ने विषयमा मैले केन्द्रित भए पनि निर्णायक भूमिका भने दलहरूकै हुने गर्छ।’

संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी एमालेसँग सरकारले निरन्तर छलफल गर्दै आएको उनले उल्लेख गरे। भने, ‘आज सबै गठबन्धन दलका कुरा सुने र मैले सभामुखको भूमिकामा काम गर्ने हो। सभामुखको भूमिका अम्पायर र निर्णायकको हुन्छ।’

अन्नपूर्ण पोस्ट्