१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024


जबराविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ : बार


390
Shares

काठमाडौं, फागुन १ । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने बताएको छ ।

प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले सपथ नलिएसम्म आफूहरुको आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने बताउनुभएको हो ।

आइतबार नेपाल बार एशोसिएशन परिसरमा कानून व्यवसायीलाई सम्बोधन गर्दै बार अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा व्यापक छानवीन हुनुपर्ने माग गर्नुभयो । उहाँले न्यायालयमा सुधारका थुप्रै कामहरु भएको र त्यो नभएसम्म आफूहरुको आन्दोलन नरोकिने पनि स्पष्ट पार्नुभयो ।

सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष शाक्यले जबरा पदच्युत नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभयो । जबरा निलम्बित प्रधानन्यायाधीश भएको र उहाँले संविधान अनुसार सर्वोच्चको गेटमा समेत प्रवेश गर्ने अनुमति नपाउने उहाँले दावी गर्नुभयो ।

विरोध कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका पूर्वअध्यक्षद्धय हरिहर दाहाल र शम्भु थापाले न्यायपालिकाको सुधार नभएसम्म आन्दोलन जारी राख्न बारको नेतृत्वलाई आग्रह गर्नुभयो । अर्का अभिवक्ता शम्भु थापाले न्यायपालिकामा देखिएको भ्रष्टाचार अन्त्य गर्नका लागि नेपाल बारले सुरु गरेको आन्दोलनलाई जारी राख्नुपर्ने बताउनुभयो ।