Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


अविश्वासमा गठबन्धन


143
Shares

काठमाडौँ । अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्ता साझेदार दलहरू एकमत हुन सकेका छैनन्, बरु यही विवादले उनीहरूबीच अविश्वास बढ्दो छ । एकअर्कालाई मनोवैज्ञानिक दबाबमा राख्न गठबन्धन भत्काउनेसम्मको सन्देश दिन थालेका छन् ।

गठबन्धनका प्रमुख तीन नेता प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शनिबार पनि बालुवाटारमा संवाद भयो, तर सहमतिको मार्ग पहिल्याउन नसकेको स्रोतहरूले बताएका छन् । कांग्रेस सभापति देउवाले एमसीसीलाई जसरी पनि संसद्बाट अनुमोदन गराउने र दुई वाम नेताले धैर्य गर्ने पुरानै अडान दोहोर्‍याएका छन् ।

समझदारीको प्रयास भन्दै दाहाल र नेपालले तीन विकल्प राखेका छन् । ‘पहिलो– आफ्ना सरोकारका विषयमा एमसीसीबाटै प्रस्टीकरण माग्ने, दोस्रो– प्रमुख प्रतिपक्षी एमालेसहित राष्ट्रिय सहमति गर्ने, तेस्रो– यो विषयलाई चुनावभन्दा पछि सार्ने ।’

प्रधानमन्त्रीले भने अब तीनै प्रस्ताव मान्न सकिने अवस्था नरहेको बताएका थिए । ‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार तीन नेतालाई फोन गर्दै म्याद नथप्ने, संशोधन नगर्ने र प्रस्टीकरण पनि नदिने जानकारी दिएका छन्, त्यसैले अब अमेरिकाबाट फेरि कुनै पनि लिखत माग्ने पहल गर्न सकिँदैन,’ एक मन्त्रीले भने । त्यस्तै माओवादी र खासगरी एकीकृत समाजवादीसँग मिलेर एमालेले कुनै पनि सहमति गर्ने सम्भावना छैन भने अमेरिकाले दिएको म्याद र प्रधानमन्त्रीको मनस्थितिले अब यो विषय चुनावपारि जान नसक्ने ती मन्त्रीको भनाइ छ ।

कान्तिपुर