काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसिस) नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि फागुन १६ सम्मको म्याद दिएको अमेरिकाले उक्त सम्झौता अनुमोदन नभए त्यसमा चिनियाँ भूमिकाले काम गरेको ठहर गर्ने जनाएको छ।
दक्षिण एसिया तथा मध्यएसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतासँगको टेलिफोन कुराकानीमा एमसिसी सम्झौता अनुमोदन नभए त्यसमा चिनियाँ स्वार्थले काम गरेको ठहर हुने बताएका हुन्।
‘एमसिसी सम्झौता अनुमोदन नभएमा हामीले त्यसमा चिनियाँ भूमिकाले काम गरेको बुझ्नेछौं’, कुराकानीपछि उनको भनाइ उद्धृत गर्दै उच्च स्रोतले भन्यो। लुले एमसिसीबारे अन्तिम निर्णय गर्न दाहालसँग आग्रह गरेका थिए। जवाफमा दाहालले एमसिसीबारेमा नेपालले जुनसुकै निर्णय गरे पनि स्वतन्त्र रुपमा गर्ने भएकाले यसमा कसैको भूमिकाले काम नगर्ने बताएका थिए।
नेपालमा एमसिसी सम्झौता कार्यान्वयनमा विलम्ब हुँदै गर्दा सहायक विदेशमन्त्री लु गत नोभेम्बरमा काठमाडौं आएका थिए। नेपाल भ्रमणका क्रममा प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट गरेका उनले त्यति बेला एमसिसी डिसेम्बरसम्ममा अनुमोदन नभए फिर्ता लैजाने बताएका थिए। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालले गत असोज १३ मा चारपाँच महिना म्याद थप गर्न आग्रहसहित पत्र लेखेपछि उक्त सम्झौता अनुमोदनको म्याद फागुन १६ सम्म थप गरिएको थियो।










प्रतिक्रिया दिनुहोस्