Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


फेरि घट्यो बजेटको आकार


507
Shares

काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्था देखिएपछि सरकारले अद्र्धवार्षिक समीक्षापछि आकार घटाएको छ । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँको मात्र हुनेछ ।अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको बजेटको अद्र्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् ।

तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेट संशोधन गरेका वर्तमान अर्थमन्त्री शर्माले आफैंले गरेको अनुमान पनि भेट्टाउन कठिन देखेपछि अद्र्धवार्षिक समीक्षा गरेर बजेटको आकार घटाएका हुन् ।चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत उनले १६ अर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए । यसअघि तत्कालीन अर्थमन्त्री पौडेलले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।

बिहीबार चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको अर्धवार्षिक समीक्षा गर्दै सरकारले यसअघिको विनियोजन रकमबाट ८६ अर्ब ५५ करोड रुपैयाँ खर्च नहुने अनुमान गरेर बजेट संशोधन गरेको हो । कुल विनियोजित बजेटको आकार घटाएर यो वर्ष सुरुमा विनियोजन गरिएको ९४ दशमलव ७ प्रतिशत मात्रै खर्च हुने गरी बजेट संशोधन भएको हो ।

यसरी घटाइएको बजेटअनुसार अब चालूतर्फ १० खर्ब ३५ अर्ब ४६ करोड रुपैयाँ र पुँजीगततर्फ ३ खर्ब ४० अर्ब ३२ करोड रुपैयाँ खर्च गरिने लक्ष्य राखिएको छ । यसअघि पुँजीगत खर्च ३ खर्ब ८७ अर्ब १० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य थियो । अब वित्तीय व्यवस्थातर्फको बजेट पनि संशोधन गरेर १ खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ खर्च गर्ने सरकारको लक्ष्य छ ।
राजधानी