काठमाडौं । क्यासिनो सञ्चालन गरेबापत रोयल्टी नबुझाउने काठमाडौं दरबारमार्गको फाइभ स्टार होटेल याक एन्ड यती र नेपालगन्जको ड्रिमल्यान्ड होटेल बन्द गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दुवै होटेल र उनीहरूले सञ्चालन गरेको क्यासिनो बन्द गर्न निर्देशनदिएका हुन् ।
याक एन्ड यतीले रोयल्टी र नवीकरण दस्तुर गरी ४२ करोड २५ लाख ६८ हजार दुई सय ५३ रुपैयाँ बुझाउन बाँकी छ । त्यस्तै, नेपालगन्जमा ड्रिमल्यान्ड होटेल र मिनी क्यासिनो सञ्चालन गरेको काठमाडौंको ह्याप्पी आवर प्रालिले ३८ करोड १० लाख ४५ हजार ६ सय ६४ रुपैयाँ रोयल्टी र दस्तुर तिर्न बाँकी छ ।
अन्तिमपटक दिइएको सातदिने अल्टिमेटममा पनि रोयल्टी र नवीकरण दस्तुर नबुझाएपछि ती होटेल र क्यासिनो बन्द गरिएका हुन् । २२ पुस ०४८ मा क्यासिनो सञ्चालनको इजाजतपत्र पाएको याकले आर्थिक वर्ष ०७६/७७ सम्मको बक्यौता, ०७७/७८ सम्मको इजाजतपत्र नवीकरण दस्तुर र चालू आवको रोयल्टी बुझाएको छैन । होटेललाई पर्यटन विभागका निर्देशक मोहनबहादुर जिसीले बुधबार गरेको पत्राचारको अन्त्यमा भनिएको छ, ‘होटेल तथा क्यासिनो सञ्चालन नगर्नु–नगराउनु हुनसमेत सूचित गरिन्छ ।’










प्रतिक्रिया दिनुहोस्