
काठमाडौं । सरकारले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बुधबारको संसद् बैठकमा टेबुल गर्ने तयारी गरिरहेका बेला मंगलबार राति नै बैठक स्थगित गरिएको छ। बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको हो।
एमसिसीका कारण प्रतिनिधिसभा बैठक ६ पटक स्थगित भएको छ। यसअघि १६ गते बोलाइएको बैठक पनि १५ गते राति स्थगित गरी २६ गते बुधबारका लागि बोलाइएको थियो। एमसिसी विवादका कारण स्थगित भए पनि अघिल्लो पटक कोरोनालाई कारण देखाइएको थियो, यसपटक ‘विशेष कारणबस’ स्थगित भनिएको छ। बुधबार १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची बाहिर ल्याइसकिएको थियो। जसमा थारु आयोगको तेस्रोवार्षिक प्रतिवेदन पेस गर्ने र पूर्वसांसदको निधनप्रति शोकप्रस्ताव पारित गर्ने विषय समावेश थियो।
एमसिसी संसद्मा टेबुल गर्ने विषय कार्यसूचीमा राख्ने–नराख्ने निर्णय गर्न सभामुख अग्निप्रसाद सापकोटाले बैठक बस्नु २ घण्टाअघि बुधबार ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए। मंगलबार दिउँसो कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख सापकोटालाई भेटेर बुधबारको संसद् बैठकमा एमसिसी टेबुल गर्ने बताएका थिए।
कानुनमन्त्री बाहिरिएपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक समय तोकेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर आएका मन्त्री बडूलाई एमसिसी टेबुल गर्न अझै हतार नभएको भन्दै सभामुख सापकोटाले दलीय सहमतिपछि मात्रै टेबुल गर्न आग्रह गरेका थिए। करिब ४५ मिनेटको भेटपछि सभामुखको सन्देश लिएर कानुनमन्त्री बडू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका थिए।










प्रतिक्रिया दिनुहोस्