काठमाडौं । त्रिभुवन विश्वविद्यालयका परीक्षामा सहभागी सयौँ विद्यार्थीको नतिजा अनुपस्थित आएको छ ।
व्यवस्थापन संकायको डिन कार्यालयमा सबैभन्दा धेरै अनुपस्थित छ । परीक्षा नियन्त्रण कार्यालय र अरू डिन कार्यालयबाट सञ्चालित परीक्षामा समेत परीक्षा दिएका विद्यार्थीको नतिजा अनुपस्थित देखिएको छ ।
डिन कार्यालयले सेमेस्टर प्रणालीका परीक्षा लिएर नतिजा सार्वजनिक गर्छ भने परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक प्रणालीका परीक्षा लिने गरेको छ । परीक्षा दिएको विषयमा अनुपस्थित आएपछि विद्यार्थी कोभिडको जोखिम मोलेर निवेदन दिन जिल्ला–जिल्लाबाट काठमाडौं आइरहेका छन् ।
कतिपय विद्यार्थीको सबै विषयमा र कतिपयको एक–दुई विषयमा अनुपस्थित नतिजा आएको छ ।अनुपस्थितलगायत परीक्षाको नतिजा सच्याउन दैनिकजसो निवेदन परेका छन् ।
त्रिविको आंगिक क्याम्पसमा पढेका एमबिएस तेस्रो वर्षको परीक्षा दिएका एक विद्यार्थीले भने, ‘पहिलो र दोस्रो सेमेस्टरमा राम्रो नतिजा आएको छ, केही दिनपहिले आएको तेस्रो सेमेस्टरमा तीन विषयमा राम्रो छ, एक विषयमा परीक्षा दिए पनि अनुपस्थित आएछ, तनाव भएको छ ।उनले अहिले त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयअन्तर्गतको परीक्षा शाखामा निवेदन दिएका छन् ।
व्यवस्थापन डिन कार्यालयले जुनसुकै ठाउँमा पढेको भए पनि सबै परीक्षा केन्द्रबाट जाँच दिन पाउने व्यवस्था गरेको थियो । ‘जसले जहाँबाट दिन सक्छ त्यहीँबाट सहभागी हुने व्यवस्था गर्यौँ,’ व्यवस्थापन संकायका डिन प्रा.डा.डिल्लीराज शर्माले भने, ‘अहिले सबै ठाउँबाट परीक्षा दिने व्यवस्था गरेका कारण त्रुटि हुँदा अलि बढी अनुपस्थित नतिजा आएको छ ।’
अहिले आवेदन संकलन भइरहेको उनले बताए ।परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले नतिजा भइसकेका विषयमा अनुपस्थित देखिने समस्या कम भएको र अब नतिजा हुने विषयमा धेरै समस्या आउने देखिएको बताए ।
गत साउनमा सञ्चालित प्रथम वर्षको परीक्षामा अनुपस्थितको समस्या धेरै आउने देखिएको उनले बताए । त्यतिवेला अनलाइनबाट फारम भरेको, परीक्षाको अघिल्लो दिनसम्म फारम भरेको, कोरोनाको समस्या भएकाले रजिस्ट्रेसन नम्बर नभएकालाई पनि परीक्षामा सहभागी गराइएकाले समस्या देखिएको उनको भनाइ थियो ।
त्यतिवेला दुई लाख ४२ हजार विद्यार्थीले पायक पर्ने ठाउँबाट परीक्षा दिन पाउने व्यवस्था गरेकाले अनुपस्थितलगायत समस्या आउने उनले बताए ।










प्रतिक्रिया दिनुहोस्