काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या सुधार गर्न भन्दै आएका डा.श्यामसुन्दर यादव स्वास्थ्य मन्त्रालयमै फर्किएका छन् ।
उनलाई सरकारले माघ ६ गते मन्त्रालयका प्रमुख विशेषज्ञका रूपमा प्रतिष्ठान पठाएको थियो । उनका सहयोगीका रूपमा आएका सुनसरीको इनरुवास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख चिरिञ्जीवी अधिकारी पनि आफ्नै कार्यालय फर्केका छन् ।
आठ महिनायता प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएर आएका पदाधिकारीले आर्थिक अनियमितता गरेको भन्दै प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिमा आबद्ध चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीहरूले आन्दोलन चर्काएपछि विभिन्न उच्चस्तरीय कार्यदलले छानबिन गरेका थिए ।
प्रधानमन्त्री कार्यालयबाट प्रतिष्ठानको समस्या पहिचान र समाधानका लागि आएको बैकुण्ठ अर्यालको संयोजकत्वको आठ सदस्यीय कार्यदलले विस्तृत प्रतिवेदन तयार गरेर बुझाएको थियो ।
नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सा शिक्षा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पनि स्थलगत छानबिन गरेर प्रतिवेदन तयार गरेका थिए । अख्तियारको प्रतिवेदन भने गोप्य राखिएको छ ।
प्रतिष्ठानभित्रै पनि आन्तरिक छानबिन भएको थियो भने महालेखा परीक्षकको कार्यालयले पनि प्रतिष्ठानको विषय समेटेर आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको थियो ।
कान्तिपुर










प्रतिक्रिया दिनुहोस्