महाभूकम्पमा ध्वस्त पाटनको भाइदेगः ८८ वर्ष पछि पुरानो स्वरुपमा फर्किंदै « Imagekhabar – Online News Portal of Nepal
३० श्रावण २०७९, सोमबार | Mon Aug 15 2022


महाभूकम्पमा ध्वस्त पाटनको भाइदेगः ८८ वर्ष पछि पुरानो स्वरुपमा फर्किंदै


169
Shares

काठमाडौं । नेपालका थुप्रै मौलिक सम्पदा वि.सं १९९० सालको महाभूकम्पमा ध्वस्त भएपछि पुननिर्माण भएपनि अझै उल्लेख्य संख्याका सम्पदाको अवस्था बेहाल छ ।

यस्तै दुरावस्था भोगिरहेको सम्पदा हो–पाटनको काशी विश्वनाथ मन्दिर भाइदेगः । तर दशकौंपछि भएको पुनर्निर्माणले भने यसको कायाकल्प फेरिएको छ ।

महाभूकम्पले ध्वस्त पाटनको काशी विश्वनाथ मन्दिर भाइदेगः मल्लकालमा जनस्तरबाट निर्माण भएको पाटनकै दोस्रो अग्लो यो मन्दिर महाभूकम्पपछि जुद्धशम्शेरको पालामा गुम्बज आकृतिमा खुम्चियो ।

फर्पिङका भगीरथ भैयालाई राजा श्रीनिवास मल्लले चौतारा बनाए । सन् १६६९ मा मुगल शासक औरङ्गजेबले बनारस काशी विश्वनाथको मन्दिरलाई ध्वस्त बनाएको ९ वर्षपछि भगीरथले नेपालको पाटनमा यो मन्दिर निर्माण गरेका थिए ।

यसरी काशी विश्वनाथको स्वरुपमा मन्दिर बनाए पनि भाइदेगः को नामबाट प्रसिद्ध भयो । तर तीन तल्ले मौलिक कलात्मक मन्दिर स्थापनाको २ सय ५५ वर्षपछि १९९० सालको महाभूकम्पको धक्का खेप्न नसकेर ढल्यो ।

ढलेको ८८ वर्ष पछि पुरानै स्वरुपमा फर्किदै छ । ऐतिहासिक नेपालको मौलिक मन्दिर पुन निमार्णमा आफुले पनि योगदान गर्न पाउन्दा गर्व महसुश भएको कालिगढ राम गोविन्द शिल्पकार बताउनुहुन्छ । अन्य सम्पदा चुस्त दुरुस्त बनाउनुपर्ने उहाँको भनाइ छ ।

जंगबहादुर राणाको पालामा बेलायती मिसनमामा नेपाल आएका सर्जन हेनरी एम्ब्रोज ओल्डफिल्डले बनाएको भाइदेगः चित्रकला र तस्वीर जर्मनका फिलिक्स ब्राण्डिटको संकलनमा फेला परेकोले मन्दिरको पुरानो स्वरुप पत्ता लागेको छ ।

कालिगढ रामकृष्ण महर्जन मन्दिरको पुरानै मौलिक स्वरूपमा पुन निमार्णले नयाँ पुस्तालाई आफनौ पुर्खाको गौरवमय इतिहासको पुस्तान्तरण भएको दावी गर्नुहुन्छ ।

ललितपुर महानगरपालिका, नेपाल इन्भेष्टमेण्ट बैंक र नर्वेजियाली दूतावासको सहकार्यमा पुनर्निर्माण भइरहेको भाइदेगः मात्र होइन, ९० सालमा भत्किएको अन्य संम्पदा पनि पुनः निमार्ण हुनु जरुरी छ । उपत्यकाको ऐतिहासिक संग्रहालय जोगाउने यो पहिलो र अन्तिम कडी हो ।