काठमाडौं । मुलुकको नयाँ विधानमा अर्थतन्त्रका तीन खम्बामध्ये एक खम्बाका रुपमा राखेपछि यो क्षेत्र फस्टायो । सहकारीको संख्या २९ हजार ८ सय पुग्यो । सहकारीको संख्यात्मक विकास त भयो तर गुणात्मक हुन सकेन । फलस्वरुप अहिले बेथिति बढेको छ । नियमन हुन नसक्दा सहकारीमा आर्थिक अपचलनका घटना दिनानुदिन बढिरहेका छन् । सदस्य निक्षेपकर्ताको रकम फिर्ता नगर्ने, निक्षेप हिनामिना गर्ने घटना बाहिरिएसँगै एकपछि अर्काे सहकारीका सञ्चालक धमाधम पक्राउ परेका छन् ।
सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङले निक्षेपकर्ताको रकम नतिरेर पक्राउ परेको घटना सेलाउन नपाउँदै अर्को एक सहकारीका सञ्चालक पनि पक्राउ परेका छन् । करिब साढे २२ करोड रुपैयाँ हिनामिना भएको आरोपमा प्रहरीले साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका लेखा समिति संयोजक काठमाडौं महानगरपालिका–१५ का ४८ वर्षीय पञ्चमान महर्जनलाई पक्राउ गरेको छ । महर्जनमाथि को–अपरेटिभमा जम्मा भएको २२ करोड ६४ लाख निक्षेप फिर्ता नदिई व्यक्तिगत आर्थिक लाभ हुनेगरी ऋण प्रवाह तथा असुली गर्दा ठगी गरेको आरोप छ ।
यसैगरी निक्षेपकर्ताको रकम फिर्ता नगरेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९०२ रुपैयाँ बिगोसहित ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको थियो। सिभिल सहकारीबाट ठगिनेको संख्या १ हजार ५२० रहेको छ ।
सहकारी विज्ञहरू पनि राज्यका निकायबाट प्रभावकारी नियमन नहुँदा समस्या सिर्जना भएको बताउँछन् । सहकारी क्षेत्रको कानुन पनि कमजोर रहेको एकथरीको तर्क छ । निक्षेपकर्ताको अर्बौं रुपैयाँ डुबाएको ओरियन्टल कोअपरेटिभ लिमिटेडका सदस्यले रकम फिर्ता पाएका छैनन् । सो सहकारीमा करिब साढे ८ अर्ब रकम डुबेको भन्दै पीडितले क्षतिपूर्ति पाउनुपर्ने बताउँदै आएका छन् । समस्यामा परेका सहकारीलाई हेर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति बनाएर काम गरे पनि परिणाम आउन सकेन । तीनवटै तहका सरकारले पनि प्रभावकारी रूपमा सहकारीको नियमन गर्न सकेका छैनन् ।










प्रतिक्रिया दिनुहोस्