Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


अनियमितता आरोपमा दुई पूर्वडिएसपी पक्राउ: तलब, रासनलगायतको बजेट हिनामिना


0
Shares

काठमाडौं । आर्थिक अनियमितता आरोपमा नेपाल प्रहरीका अवकाशप्राप्त दुई नायब उपरीक्षक पक्राउ परेका छन् ।

हुम्लामा प्रहरी प्रमुख भएर काम गरेका त्रिलोक चन्द र कृष्णबहादुर कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको हो ।

लेखापालसँग मिलेर प्रहरीको तलब, रासनलगायतको बजेट हिनामिना गरेको आरोपमा आयोगले उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान गरिरहेको छ । तत्कालीन लेखापाल वीरेन्द्र चन्द्रलाई पनि आयोगले नियन्त्रणमा लिएको छ ।

०७० र ०७१ मा जिल्ला प्रहरी कार्यालय हुम्लामा बजेट हिनामिना भएको थियो । जिल्लामा कार्यरत नै नरहेका प्रहरीको नाममा किर्ते हस्ताक्षर गरी तलब निकासा गरी अनियमितता गरेको खुलेपछि हिरासतमै लिएर आयोगले छानबिन अघि बढाएको हो । अनियमिततामा संलग्न तत्कालीन लेखापाल सइ चन्दलाई प्रहरीले सेवाबाट पहिले नै बर्खास्त गरिसकेको थियो ।

अनियमिततामा दुई डिएसपीकै मिलेमतो भएपछि प्रहरी नेतृत्वबाट भएको छानबिनमा उनीहरूलाई जोगाइएको थियो । अख्तियारमा उजुरी परेपछि प्रारम्भिक छानबिन गरी उनीहरू पक्राउ परेका हुन् ।

अनियमिततामा दुवै डिएसपीको मिलेमतो रहेको आयोगको दाबी छ । त्यतिवेला प्रहरीलाई व्यक्तिगत रूपमै तलब दिइने भएकाले यस्ता अनियमितता भएको हो । हाल बैंक खातामार्फत तलब र रासनभत्ता निकासा हुने गरेको छ । -नयाँ पत्रिका दैनिकबाट