काठमाडौँ । दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएपछि गएको १० पुसमा पदभार ग्रहण गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘म सबैको सभापति हुँ । निष्पक्षरुपमा काम गर्छु ।’
आसन्न तीन वटै निर्वाचनमा बहुमत हासिल गर्नका लागि पनि पार्टीभित्र एकता आवश्यक भएकाले महाधिवेशनको तितो मिठो बिर्सिएर चुनावको तयारीमा लाग्न देउवाको निर्देशन थियो ।
तर, दुई महिना नबित्दै देउवाले साझा सभापतिको व्यवहार नगरेको भन्दै असन्तुष्टि सुरू भएको छ । पार्टीभित्र महाधिवेशनको म्याण्डेटबमोजिम काम नगरेको भन्दै उनको कार्यशैलीप्रति असन्तुष्टि बढ्न थालेको छ ।
पार्टीका पदाधिकारीहरु नै देउवाको कार्यशैलीप्रति असन्तुष्ट छन् । देउवाले महाधिवेशनको जनमतलाई स्वीकार्न नसकेको उनीहरुको आरोप छ । खासगरी नेता शेखर कोइराला समूहका पदाधिकारीहरुले यस्तो आरोप लगाउन थालेका हुन् ।
‘हामी पार्टीको पदाधिकारी त भयौँ, तर राष्ट्रिय राजनीतिका विषयमा पार्टीको धारणा बनाउँदा सभापतिज्यूले हामीलाई बोलाउनुहुन्नँ, अहिलेकोकांग्रेसको राष्ट्रिय पोजिसनमा हाम्रो भूमिका छैन,’ एक पदाधिकारीले इकान्तिपुरसँग भने, ‘हाम्रो पार्टी सरकारमा छ, यो सरकारको जस–अपजस हामीलाई आइपर्छ ।
तर, सभापतिज्यूले राष्ट्रिय राजनीतिका विषयमा गठबन्धनमा मात्रै छलफल गरिरहनुभएको छ, यो दुर्भाग्य हो ।’
देउवाले गठबन्धनमा हुने छलफलमा उपसभापति पूर्णबहादुर खड्काबाहेक अन्य पदाधिकारीलाई सहभागी गराएका छैनन् । विधानअनुसार देउवा कांग्रेसका ‘आउट गोइङ’ सभापति हुन् ।
अघिल्लो पटक आमनिर्वाचनको पराजयले गिरेको छवि आसन्न निर्वाचनमा बहुमत ल्याएर पार्टीलाई उचाईमा पुर्याउने देउवाको सपना छ ।
तर, पार्टीभित्रका अन्तर्द्वन्द्व कम गर्दै साझा सभापति बन्ने सार्वजनिक प्रण गरेका देउवा व्यवहारमा भने महाधिवेशनका सहयोगीलाई काखा च्याप्ने र प्रतिस्पर्धीलाई पाखा लगाउने बाटोतिर अग्रसर देखिन्छन् ।
कान्तिपुर










प्रतिक्रिया दिनुहोस्