३१ जेष्ठ २०८१, बिहिबार | Thu Jun 13 2024


संशोधनबिना पारित गर्न नहुने माओवादी अडान


130
Shares

काठमाडौं । संसद्मा दर्ता भएको एमसिसी सम्झौता दुईतिहाइ बहुमतले पारित गर्नुपर्ने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को अडान छ। प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को साधारण बहुमतले पारित गर्नुपर्ने पक्षमा छन्।

संसद्मा आउनैनपर्ने एमसिसी सम्झौता आएकाले छलफल र आवश्यक संशोधन गरी दुईतिहाइले पारित गर्नु उपयुक्त हुने माओवादी केन्द्र र नेकपा एसको धारणा छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट एक नेताको भनाइअनुसार एमसिसी संसद्मा लैजानुपर्ने विषय होइन, संसद्मा लैजानुनपर्ने विषय लगिएपछि दुईतिहाइले किन पारित नगर्ने भन्ने पार्टीको मुख्य प्रश्न हो। एमसिसी जस्तो विषयमा राष्ट्रिय सहमति आवश्यक छ, एमसिसीलाई लिएर जनता विभाजित देखिएकाले यसमा संसद्का प्रमुख सबै दलको सहमति हुनुपर्ने ती नेताले बताए। यसबाट राष्ट्रिय सहमतिको सन्देश पनि प्रवाह गर्न सकिने ती नेताको भनाइ छ।

सरकारले एमसिसी सम्झौता दुवै सदनबाट पारित गर्नेगरी प्रस्ताव संसद्मा लगेको छ। साधारण बहुमतले पारित गर्ने विषय प्रतिनिधिसभामा मात्र पेस गर्न सकिन्छ। संसद्को दुवै सदनले पारित गर्नुपर्ने हो भने दुईतिहाइ जुटाउँदा के फरक पर्दछ भन्ने एकथरी नेताहरूको भनाइ छ।

एमसिसी दुईतिहाइले पारित गर्ने हो भने एमालेको सहमतिबिना सम्भव छैन। संसद् अवरुद्ध गरिरहेको एमाले एमसिसी पारित गर्न कसरी मतदानमा सहभागी हुन सक्छ भन्ने प्रश्न एकातिर छ भने अर्कोतिर एमसिसीमा मतदान नगर्ने रणनीतिस्वरुप नै उसले संसद् अवरुद्ध गरेको पार्टी अध्यक्ष केपी शर्मा ओली निकट केही नेता बताउँछन्।

नागरिक