Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


भागबण्डा मिलाउन मन्त्रालय फुटाइँदै


65
Shares

विराटनगर । प्रदेश १ सरकारले हाल कायम मन्त्रालय फुटाएर १२ वटा बनाउने तयारी गरेको छ। आइतबारको मन्त्रिपरिषद्को बैठकले ७ वटा मन्त्रालयलाई फुटाएर १२ वटा बनाउने निर्णय गरेको हो।

मन्त्रालय फुटाएर संख्या बढाउनेबारे आइतबारको मन्त्रिपरिषद्को बैठकले निर्णय नै गरिसकेको स्रोतले जनाएको छ। स्रोतका अनुसार सरकारले मन्त्रालय फुटाएर १२ पुर्‍याउने निर्णय गरेसँगै मन्त्रीकालागि कार्यकक्ष लगायतको भौतिक व्यवस्थापनसमेत सुरू भइसकेको छ। हाल कायम मन्त्रालयकै भवनमा फुटाएर बनाइएका नयाँ मन्त्रालय राख्न साजसज्जासमेत सुरु भइसकेको स्रोतले दाबी गरेको छ।

सरकारले मन्त्रालय थप्ने निर्णय गरेर भौतिक पूर्वाधार तयारीको कामसमेत थालिसकेको भए पनि मन्त्रालय थप गर्ने निर्णय अझैसम्म औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन। प्रदेश १ को सरकारले ५ वटा मन्त्रालय थप गरी ५ जना मन्त्री नियुक्त गर्ने र ३ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार मन्त्रीहरूका लागि सामाजिक विकास मन्त्रालयमा तीन जना मन्त्रीको कार्यकक्ष, कृषि मन्त्रालयमा दुई जना मन्त्रीको कार्यकक्ष, पूर्वाधारमा दुई र वनमा दुई जना मन्त्रीका लागि कार्यकक्ष तयार भइरहेको छ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको जानकारी दिए। कार्यदलमा विराटनगर, कटहरी, ग्रामथान, बूढीगङ्गा, दुहवी, इटहरी र सुन्दरहरैंचा नगरपालिकाहरूका प्रमुखहरू सदस्य रहनेछन्।

नागरिक