राष्ट्रपति पटक–पटक गालीको भागिदार किन ? « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


राष्ट्रपति पटक–पटक गालीको भागिदार किन ?


195
Shares

संजिव कार्की
गणतन्त्र स्थापनापछि राष्ट्रपतिको तीन कार्यकालमा तेस्रो कार्यकाल चल्दैछ । पहिलोपल्ट राष्ट्रपति बन्नु भएका डाक्टर रामवरण यादव प्रधानसेनापति काण्डमा विशेष चर्चा बटुलेर जानु भयो । राष्ट्रपति भएर पनि कांग्रेसको अधिवेशनमा एउटा पक्षलाई भोट मागेको आरोप उहाँलाई नलागेको होइन ।

तत्कालीन प्रधान सेनापति रुकमाङगत कटवाललाई हटाउने तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई रामबरणले साथ दिनुभएन । माओबादीको उदण्डता रोक्न रामवरणलाई नेकपा एमाले, कांग्रेस लगायतका राजनीतिक शक्तिको धाप र समर्थन थियो । त्यसैले रामवरण विवादकाबीच पनि कम विवादित हुनुभयो । विद्यादेवी भण्डारीको पहिलो कार्यकाल (२०७२ कार्तिक ११ देखि २०७४ फाल्गुन २९ ) त्यति विवादित नबने पनि जनकपुर मन्दिर भित्र एक विधवा पसेको भनेर र राष्ट्रपतिका छोरीहरूको जुत्ता चप्पल सेनालाई बोक्न लगाएको र सवारीमा सास्ती दिएको प्रशंग निकालेर खुब गाली गरियो । प्रधानमन्त्री देउवाले पठाएको राष्ट्रिय सभा गठन बिधेयक समयमा प्रमाणित नगरिदिएको, अड्काएको आरोप लाग्यो र त्यतिबेला राष्ट्रिय सभाको चुनाव ढिला मात्र भएन सत्ता हस्तान्तरण कार्य पनि लामो समय रोकियो । त्यस्तै अर्को विवादित काम राष्ट्रिय सभामा देउवाले सिफारिस गरेका तीन जनालाई मनोनित नगर्नु र केपी शर्मा ओलीको सत्तागमन पर्खनु यी कार्य नजिरको रुपमा रहने भए र दीर्घकालीन असर देखिन्छ्न । प्रधानमन्त्री र राष्ट्रपति बीचको सामान्य खटपट संसारभर देखिने समान्य घटना नै हुन् । प्रधानमन्त्री र राष्ट्रपति असामान्य ढंगले मिलेमा पनि टकराएमा दुर्घटना निम्तिने खतरा रहन्छ । जुन नेपालको परिप्रेक्षमा पनि हामी तीन कार्यकालको अभ्यासका भुक्तभोगी छौं ।

असमयमा दुर्भाग्यवस् पति गुमाएको एक महिलालाई जानकी मन्दिर अपवित्र पारेको,बिटुलो बनाएको जस्ता हीन र अत्यन्त तल्लोस्तरको गालीगलौज गर्दै विधवाले अपवित्र पारेको मन्दिर सफाई भनेर जनकपुर,मधेशमा मधेशवादी दल र तिनका कार्यकर्ताले राष्ट्रपतिको हुनसम्म बेइज्जत गरेर महिला माथिको आफ्नो दृष्टिकोण र धारणा सार्वजनिक गरे । यहाँ राष्ट्रपति भण्डारीको मात्र बिरोध र अपमान गरिएको नभएर समस्त श्रीमान् गुमाएका महिलाको अपमान गरिएको थियो । देशको सर्वोच्च संस्था राष्ट्रपतिको इज्जत धमिलो त भएन, तर राजनीतिक रूपमा गरिएको बिरोध र प्रतिशोधले बिरोध गर्नेहरूको चरित्र र साँघुरो सोचाई महिलालाई हेर्ने विश्वदृष्टिको पर्दा उघारेर निर्लज्ज बनायो ।

आफै बेइज्जती बन्नु र नियतवस, प्रयोजनार्थ बेइज्जत गरिनु नितान्त फरक कुरा हुन् । यहाँ राष्ट्रपति भण्डारीको बेइज्जत भएन जसले बेइज्जत गर्छु भनेर कुचेष्टा गरे तिनको नै इज्जत रहेन । जानकी मन्दिरमा राष्ट्र प्रमुखको हैसितले एक नारीले गरेको भ्रमणलाई बिटुलो देख्नेले स्वयं जानकी माताको अनादर गरे । धार्मिक विश्वास राख्ने र जानकीप्रति आस्था राख्नेको मर्ममा प्रहार गरे जसको घाटा भण्डारीलाई हैन तिनैलाई भयो जसले दुर्वाच्य बोलेर दुष्कर्म गरे । जानकीको आशिर्वाद प्राप्त नभएको भए दोस्रोपटक राष्ट्रपति हुने अवसर विद्यादेवी भण्डारीलाई जुर्दैन थियोे शायद ?

२०७४ फाल्गुन ३० देखि अहिले राष्ट्रपतिको दोस्रो कार्यकाल चल्दैछ । यो कार्यकाल विवाद, गालीगलौज, अपमान र नैतिकताका थुप्रै प्रश्नहरू गुजुल्टिएर खडा भएका छन् । आफ्नै पार्टी फुटाएको गम्भीर आरोपदेखि नैतिकताको असाध्यै लाजमर्दो प्रश्न सडक र सामाजिक संजालमा भाइरल भएर आए । विशेष त तत्कालीन नेकपा पार्टी हालका नेकपा समाजवादी र माओवादी केन्द्रका कार्यकर्ताहरूले अत्यन्तै आपत्ति जनक नारा लगाए सार्वजनिकरुपमा भन्न मिल्ने नमिल्ने सबै कुराले राष्ट्रपतिलाई लान्छित गरे । निजी जीवनका, निजी मामला सार्वजनिक गर्नु आवश्यक थिएन । व्यक्तिगत सम्बन्धका कुरालाई फुँदा जोडेर राजनीतिको रङ्ग दिनु कसैलाई पनि हितकारी होइन । एक असभ्य आक्रमणलाई माधव नेपाल, झलनाथ खनाल र प्रचण्डले आफ्नै अघि लगाएको नैतिकता च्युतको त्यो हदको नारा र आरोप अनुमोदन गरेर हिंडे जुन कुरा नारीवादी आन्दोलनले हेक्का राखेर पक्कै मूल्याङ्कन गर्नेछ । इतिहासले चोटिलो जवाफ फर्काउने छ ।

राष्ट्रपति भण्डारी आफ्नो पूर्व संलग्नता जतासुकै भएर आउनु भएको भए पनि उहाँ राष्ट्रको सर्वोच्चपदमा आसीन अभिभावक हो । सो पदमा पुगेपछि कसैलाई लाखा र कसैलाई पाखा पारिनु हुन्न भन्ने आम मान्यता रहन्छ । यद्दपि मान्छे हुनु स्वभाव र हामीमा परेको सामाजिक सांस्कृतिक छाप र मनोविज्ञानले नजिक भैरहेको र हुने मान्छेहरूप्रति सामान्य झुकाव र सदासयता रहन्छ । जसलाई नकार्न सकिन्न । तर राष्ट्रको अभिभावकले देखिने गरी, अनुभूत हुने गरी फरक – फरक व्यवहार गर्नु चै एकदम आपत्तिको विषय हो । हाम्रो संविधानले राष्ट्रपतिलाई कार्यकारी भूमिका दिएको छैन । त्यसैले संबैधानिक राजा जस्तै हाम्रो जस्तो राष्ट्रपति जो सेरोमोनियल मानिन्छ उसले पनि कहिल्यै गल्ति गर्दैन । जस अपजशको भारी कार्यकारी प्रधानमन्त्री हुन्छन् । तथापि राष्ट्रपति अभिभावक भएको नाताले गलत गर्न खोज्नेलाई व्यवहारिक समझको आधारमा सचेत गराउने, सम्झाउने र निर्णयमा पुनर्विचार गर्न लगाउने क्षमता र नैतिक तागत चै हुनुपर्छ । संवैधानिक राष्ट्रपतिको सबैभन्दा ठूलो शक्ति निष्पक्षता तटस्थता र अभिभावकीय भूमिका नै हो भन्ने राजनीति र कानुनका जानकारहरूको मत छ । सबै कुरा ऐन, नियम र कानुनमा लिखित मात्रै हुँदैनन् व्यवहारिक समझ, नैतिकता र अन्यत्रको अभ्यास हेरेर पनि त्रुटिलाई सच्याउने गलत गर्न नदिने, विवाद आउने कुरामा कानुनी परामर्श गर्ने र स्वविवेक प्रयोग गर्ने खुवी चै कम्तिमा राष्ट्रपतिको वान्छ्नीय योग्यता हुनुपर्छ ।

हिजो,आगामी दिनमा र आज पनि यो वान्छनीय योग्यता बहश र छलफलको विषय हो । कस्तो मान्छे राष्ट्रपतिको सम्भावित उम्मेदवार हो र हुनुपर्छ ? यहाँ केवल कसैलाई चित्त बुझाउन राजनीतिक भागबण्डा गर्न पहिलेनै राष्ट्रपतिको पद बाँडफाँड गरिन्छ,जुन घातक र राजनीतिक रूपमा गरिने गलत अभ्यास हो । राजनीति त्यतिबेला दुषित हुन्छ जतिबेला पटक –पटक सत्ताको चास्नीमा डुबेको नेता धित मरेको छैन भनेर सत्ता र शक्तिको लागि मरिहत्ते गर्छ । नेताको व्यक्तिगत स्वार्थ र साझेदारी, अवकाश प्राप्त गर्ने बुढा नेताहरूको व्यवस्थापनकोलागि जसरी नि सत्ता प्राप्तिको अभिष्ट, नाजायज हर्कत गरेर भए नि त्यो तह र पदमा पुग्नै पर्ने मनोवृति, अग्रिम रुपमा नै पद भागबण्डा गरेर राजनीतिमा पासो र च्याँखे थाप्ने मनसायको कारण राजनीति दुर्गन्धित बनिरहेको छ । रास्ट्रपति संस्थालाई सस्तो र बिकाउको पदमा अनुवाद गरिंदै छ ।

राष्ट्रिय स्वार्थ र राष्ट्रहित भन्दा अन्यत्र राष्ट्रपतिको चासो देखिनु र कसैको कोटको खल्तीको रबर स्ट्याम्प बन्नु पक्कै पनि देशहित र उहाँको व्यक्तिगत हितमा छैन । ओलीको कारिन्दाको रूपमा देखिने गरी राष्ट्रपतिले जे गर्नु भयो त्यो खेदजनक र निन्दा योग्य छ । कतिपय संबैधानिक कर्तव्य र भूमिका अतिशयोक्तिपूर्ण तवरले भनिए पनि ओलीले सिफारिश गरेको हर कुरालाई आँखा चिम्लेर रात बिरात ल्याप्चे ठोकिदिने कार्य गरेर विगतमा ओली सरकारको पालामा राष्ट्रपतिले आफ्नो मर्यादालाई दाउमा राख्नु भएकै हो । हठात् संसद बिगठन जस्तो दुई –दुई पटकको ओलीको कार्यलाई सिधै काँध हाल्नु राष्ट्रपतिको गम्भीर त्रुटी नै हो । अरुपनि झिनामसिना देखि ठूला काम जुन राष्ट्रपति आफैले गर्न र रोक्न हुदैंनथ्यो त्यो गर्नु भयो । रोक्ने कुरा नरोकेर नरोक्ने कुरा रोकेर उहाँले एमाले विवादमा रास्ट्रपति संस्थालाई बिवादमा ल्याउन खोज्नुभयो । त्यो मानवीय भूल नभएर पक्षधरता लिएको स्पष्ट थियो । जसको भलीभाँती गाली उहाँको भागमा परिसक्यो अव विगतलाई दोहोर्‍याउने हैन सच्याउने र आफ्नो भूमिका सर्वस्वीकार्य बनाउने समय आएको छ । आग्रह र पूर्वाग्रह बिना राष्ट्रपति र प्रधानमन्त्रीले कार्य सम्पादन गरेर राष्ट्रलाई अघि बढाएर लैजानु शेरबहादुर देउवाको र विद्यादेवी भण्डारीको दायित्व हो ।

राष्ट्रपतिको कुनै पार्टी संलग्नता र कुनै नेता विशेषप्रतिको व्यक्तिगत अनुरागर द्वेष शोभनीय हुँदैन । राजनीतिक विवादबाट संस्थालाई मुक्त राख्नु र राष्ट्रपति संस्थाको मर्यादाको खातिर भण्डारीले केही विशेष र विगतमा भएका त्रुटी सच्याएर कमजोरी स्वीकार गरेर नियम कानुन र व्यवहारिक आचरणले समझ र विवेकले आफ्नो भूमिकालाई तार्किक ढंगले प्रतिस्थापन गर्न यत्न गर्नुपर्छ । राष्ट्रपतिलाई व्यक्तिको हैन विधिको पक्षमा लाग्ने अवसर छ । यसको लागि विगतको त्रुटिमा क्षमा माग्नु अनिवार्य हुन्छ । राष्ट्रपति संस्था अमुक हुन्छ । तर त्यहाँ पदासिन व्यक्तिले उसले गर्ने आचरण र कार्यले यसको गरिमा उँचो र भव्य बनाउने हो ।
राष्ट्रपतिको काम गाली खाने मात्रै हो ?
प्रधानमन्त्रीले भनेको मान्दा पनि सुख छैन नमान्दा नि सुख छैन ?किन यस्तो भयो ? संवैधानिक इरर हो या नियतमा खोट ?ओलीको पालामा प्रधानमन्त्रीले जे भनेको पनि खुरुखुरु मान्ने आफ्नो अभिभावकीय भूमिकाको ख्याल नगर्ने जे ल्याए नि लाल मोहर लगाइ दिने भनेर छुद्र टिप्पणी गर्नेलाई राष्ट्रपति विद्या भण्डारीले म असंवैधानिक कुराको पक्षमा छैन भनेर प्रधानमन्त्रीलाई सचेत गराएको कुराको बिरोध गर्ने नैतिक हक हुन्छ र ? सच्चिन चाहनु भुल होइन विगतको भुलको स्वीकारोक्ति पनि हो । ढिलो बुद्धिबंगारा पलाउँदाको गाली र आलोचना राष्ट्रपतिले आवश्यकता भन्दा बढी खाइ सक्नु भएको छ ।

तसर्थ अब सच्चिन चाहने उहाँको प्रयत्नलाई प्रोत्साहन गरौं । यद्यपि प्रधानमन्त्रीको संवैधानिक प्रक्रियालाई भने कुनै पनि बहानामा अवरुद्ध गर्ने उहाँको नियत देखियो भने सो खेदजनक, प्रश्नीय र आलोचनाको विषय हुनेछ ।