सहिदका सपना सम्झाउने स्मारक « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


सहिदका सपना सम्झाउने स्मारक


78
Shares

मकवानपुर । सहिद शब्दले बोकेको अर्थ जति ओजनदार छ। आजभोलि त्यसलाई हल्का रूपमा लिन थालिएको छ। हेटौंडा –११ स्थित सहिद स्मारक पुग्दा जो कोहीले पनि सहिदहरूले देखेका सपनाहरू सम्झिन्छन्। नेताहरू पनि बेलाबेलामा सहिद स्मारक आइरहन्छन्। सहिदको सम्झाना गर्छन्। उनीहरूले देखेको सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्छन्। तर, प्रतिवद्धताहरू क्षणमै बिर्सिएर गन्तव्यतर्फ लाग्छन्।

देशका लागि विभिन्न कालखण्डमा ज्यान दिएका सहिदहरूको सम्मानमा सहिद स्मारक निर्माण गरिएको हो। यहाँ सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न ६ वर्षअघि सहिद स्मृति स्तम्भ निर्माण गरिएको थियो। स्मारकलाई सहिदको तीर्थस्थलका रूपमा विकास गर्न स्तम्भ निर्माण गरिएको हो। १९ मिटर गोलाइमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ। चारैतिर बगैंचा र अग्र भागमा नेपालको प्राकृतिक नक्सा निर्माण गरिएको छ। ‘सबै सहिदहरूको छुट्टाछुट्टै शालिक बनाउन सम्भव नभएकाले सबै सहिदको सम्झनामा स्तम्भ निर्माण गरेका हौं,’ सहिद स्मारक विकास समितिका अध्यक्ष एवं बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले भने। स्तम्भ करिब १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।

स्मारकमा विभिन्न राष्ट्रभक्तिपूर्ण युद्ध र जनसंघर्र्षहरूमा सहिद भएका १२ सहिदको एउटै ढुंगामा मुखाकृत कुँदिएको हो। स्थानीय सरस्वती खोलाबाट ल्याइएको श्यामल वर्णको ढुंगामा कलात्मक ढंगले कुँदिएको शालिक सहिद स्मारकको प्रमुख आकर्षण हो। उक्त कलाकृति सहिद दिवसका दिनमात्र खुला हुन्छ।

ढुंगामा भीमसेन थापा, दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको आकृति कोरिएको छ। त्यस्तै, भीमदत्त पन्त, वीरेन राजवंशी, क्याप्टेन यज्ञबहादुर थापा, दुर्गानन्द झा, मुनेश्वरी यादव, रत्नकुमार वान्तवा, प्रभाकर पौडेलको आकृति कुँदिएको छ। स्मारकमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भुमिका खेलेका बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिक राखिएको छ।

अन्नपूर्ण पोस्ट्