
दाङ । राष्ट्रिय जनमोर्चा विभाजित भएको छ । यसअघि नेकपा मसालबाट विभाजन भएर नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको भए पनि अब सो पार्टीको वैधानिक मोर्चाको रूपमा रहेको राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनेको छ ।
भर्चुअल माध्यमबाट शनिबार सम्पन्न विशेष राष्ट्रिय भेलाबाट राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समिति गठन गरेसँगै राष्ट्रिय जनमोर्चामा विभाजन आएको हो । जसका अध्यक्षमा कृष्णराज पौडेल, उपाध्यक्षहरू चिन्तामणि पौडेल, सूर्या थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्की रहनुभएको छ ।
भेलाले ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको सो पार्टीनिकट पत्रकार नारायण शर्माले जानकारी दिनुभयो । यसअघि गत मंसिरमा नेकपा मसालबाट छुट्टिएर नेकपा मसाल समन्वय समिति बनेको थियो । जसको संयोजकमा सन्तबहादुर नेपाली र प्रवक्तामा कृष्णराज पौडेल रहनुभएको थियो । सो समूहले राष्ट्रिय भेला गरी ५७ सदस्यीय केन्द्रीय सदस्य र ११ सदस्यीय सल्लाहकार रहेको नेकपा (मसाल) केन्द्रीय समन्वय समिति गठन गरेको थियो ।
मोहनविक्रम सिंहले नेतृत्व गरेको मूल पार्टी संसदीय व्यवस्थामा फसेको आरोपसहित सो समूहले वर्तमान संसदीय व्यवस्थाको विकल्प नयाँ जनवादी व्यवस्था गर्दै पार्टीलाई दक्षिणपन्थी विचलनबाट रोक्न वैचारिक संघर्षको रूपमा नयाँ समूह बनाएको अध्यक्ष पौडेलको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्