२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रदेश नं २ को नाम ‘मधेश प्रदेश’ राख्नमा सहमति नजिक


0
Shares

धनुषा । प्रदेश नं २ को नामकरणको विषयमा सबै राजनीतिक दल मधेश प्रदेश नजीक पुगेको छ ।

गत भदौमा दलहरु नाम र राजधानीका विषयमा गरेका प्रस्तावमाथि सहमतिका क्रममा रहेका दलहरु नामको विषयमा मधेश प्रदेश नजीक पुगेका छन् ।

प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले मधेश प्रदेश, प्रमुख प्रतिपक्षी नेकपाले जानकी प्रदेश, नेपाली काँग्रेसले मिथिला भोजपुरा र केहीले मध्यमधेश दर्ता गराएका छन् ।

दलहरुले गरेको प्रस्तावमा सहमति जुटाउन सभामुख सरोजकुमार यादवको संयोजकत्वमा रहेको समितिले गरेको पटकपटकको छलफलपछि दलहरु मधेश प्रदेश नजीक पुगेका छन् ।

सबै दलका संसदीय दलका नेता समेतको सहभागितामा आज सम्पन्न समितिको बैठक नामकरणको विषयमा सहमति नजीक पुगेको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

बैठकमा सत्तारूढ समाजवादी पार्टी र राजपा मधेश प्रदेश हुनुपर्नेमा अडिग रहे पनि सहमतिका लागि भन्दै नेकपाले जानकी मधेश र नेपाली काँग्रेसले मिथिला मधेश नाम अघि सारेका छन् ।

मुख्यमन्त्री एवं समाजवादी पार्टी संसदीय दलका नेता लालबाबु राउतले नाम टुङ्ग्याउन नसकिए पनि दलहरु सहमति नजीक पुगेको प्रतिक्रिया दिएका छन् ।। उनले  मुलुकमा सङ्घीयता स्थापना गराउने मधेश आन्दोलनको सम्मानका लागि भए पनि मधेश प्रदेश हुनुपर्ने बताए ।

राजपा संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेकपा र नेपाली काँग्रेससमेत मधेशलाई स्वीकार्य गरेकामा धन्यवाद दिंदै अगामी बैठकले टुङ्गो लाग्ने विश्वास व्यक्त गरे ।

प्रमुख प्रतिपक्षी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले आफूहरु सहमतिका लागि लचक भएर जानकी मधेशको प्रस्ताव अघि सारेको बताउँदै सत्तापक्षलाई समेत लचिलो हुन आग्रह गरे ।

त्यसैगरी नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले पनि सहमतिका लागि मिथिला मधेश नाम अघि सारेको भए पनि सत्तापक्ष मधेशबाहेक केही सुन्नै नचाहेकाले आजको बैठक निष्कर्षविहीन भएको बताए ।

उनले सहमतिका लागि आफूहरु सदैव तयार रहेको प्रतिक्रियासमेत दिएका छन् । रासस