२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


उधारो खाएको ५० रुपैयाँ माग्दा ६५ वर्षीया वृद्धालाई बोक्सी आरोपमा मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट


182
Shares

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका– ३ हरकठवामा ६५ वर्षीया वृद्धा वकिला खातुनलाई बोक्सीको आरोपमा छिमेकी पाँच पुरुषले मध्यराति ओछ्यानबाटै थुतेर निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट खातुनको दाहिने आँखामा रगत जमेको छ । तर, पीडितको किटानी जाहेरीसमेत लिन अस्वीकार गरेको प्रहरी उल्टै पीडकले दिएको निवेदन भने तत्काल दर्ता गरेर खातुन र उनका छोराहरूलाई पक्राउ गर्न घरमै पुगेपछि झन् असुरक्षित बनेका छन् ।

वकिला घरखर्च चलाउन पान, सुपारीलगायतको खुद्रा व्यापार गर्छिन् । छिमेकी ४० वर्षीय मगनी साह उनको पसलमा खाइरहन्थे । तर, उधारो खाएको ५० रुपैयाँ नतिरेको धेरै नै भइसकेको थियो । २८ पुसमा वकिलाले मगनीको घरमै पुगेर पैसा मागिन्, तर मगनीले पैसा दिएनन्, झपारेर पठाए ।

त्यसै दिन राति १० बजिसकेको थियो, वकिला ओछ्यानमा पल्टिसकेकी थिइन् । मगनी अन्य केही व्यक्ति लिएर वकिलाको घरमा पुगे । ‘तँ बोक्सी’ भन्दै लछार्दै घरबाट निकाले । आँगनबाट पनि घिसारेर कुटपिट गर्दै आफ्नो घरको आँगनसम्म पुर्‍याए । मरणासन्न वकिला चिच्याएपछि उठेका केही छिमेकी महिलाले उनलाई छुटाएर घर ल्याए । बोक्सीको गम्भीर आरोप लगाएर निर्घात कुटपिट गर्दा पनि ‘छिमेकी मर्दापर्दा चाहिन्छ’ भनेर वकिलाले सहिन् ।

२ माघको बेलुका वकिला पुनः पैसा माग्न मगनीको घर पुगिन् । तर, मगनीले अघिल्लोपटक जस्तै गाली गरेर घरबाट धपाए । उनले त्यति मात्रैै गरेनन्, भोलिपल्ट ३ माघमा ३० वर्षीय भाइ होरिल साह, छिमेकी ४५ वर्षीय नुनु साह, नुनुका छोरा २५ वर्षीय जितकुमार साह र अर्का छिमेकी २१ वर्षीय सुनील साहसमेत लाठीमुंग्रीसहित वकिलाको घरमा पुगे । उनीहरूले कपाल लुछ्दै ‘टुनामुना गर्ने बोक्सी’ भनेर निर्घात हुन्जेल कुटपिट गरे ।

नयाँ पत्रिका