२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पत्रकार विश्वकर्माको निधनबारे महासंघको निष्कर्ष–’अस्पताल सेवाग्राहीमैत्री नहुनुको परिणाम’


273
Shares

काठमाडौँ । नेपाल पत्रकार महासंघले अस्पतालको लापरबाहीकै कारण पत्रकार एलबी विश्वकर्माको निधन भएको निष्कर्ष निकालेको छ ।

महासंघले उहाँको निधनलाई सरकारी स्वामित्वका अस्पतालमै सेवाग्राहीमैत्री सुविधा नहुनुको परिणाम भएको जनाएको छ ।

महासंघका केन्द्रीय सदस्य एवम् अध्ययन समितिका संयोजक रामकृष्ण अधिकारीले शुक्रबार महासंघले गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वकर्माको निधनमा सिभिल अस्पतालको लापरबाही मुख्य कारण रहेको औंल्याउनु भएको छ ।

महासंघले पाटन अस्पतालले समेत संवेदनशील अवस्थामा अस्पताल पु¥याईएका बिरामीलाई गम्भीरतापूर्वक लिएर उपचार नगरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

‘स्वास्थ्य सेवा संवैधानिक हक भएको मुलुकमा नागरिकको जीवन बचाउनु अस्पतालको पहिलो दायित्व हुनुपर्ने हो ।

तर, अरुको अधिकारको लागि कलम चलाउने पत्रकार नै महामारीको समयमा अस्पतालमा पुगेर समेत उचित स्वास्थ्य उपचारबाट बञ्चित हुनु र मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै दुःखद् हो,’ महासंघले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘यस प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु अस्पतालहरुको जिम्मेवारी र कर्तव्य हो ।’

महासंघले सरकारी अस्पतालको लापरबाहीका कारण पत्रकार विश्वकर्माको निधन भएको भन्दै उहाँको परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।

मृतक परिवारलाई महासंघले ५० हजार रुपैयाँ राहतको घोषणा गर्दै विश्वकर्माकी श्रीमतीलाई जीवन निर्वाहका लागि रोजगारी र साढे ३ वर्षको छोराको उच्च शिक्षासम्मको जिम्मेवारी पत्रकार एलबी विश्वकर्मा कार्यरत रहेको सञ्चार गृह र सरकारले लिनुपर्ने नेपाल पत्रकार महासंघले जनाएको छ ।

कान्तिपुर