Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


ओमिक्रोन भाइरसले कोभिड अन्त्य गराउँछ भन्नेमा कुनै सत्यता छैन : डब्लुएचओ


2.4k
Shares

काठमाडौं, माघ १२ । नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ।

केहि दिन अघि नेपाली मिडियामा आएको एक खबरको उसले खण्डन गरेको हो । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका स्वास्थ्य आपतकालिन कार्यक्रमका टोली नेता डा. आलिसन गोकोतानोले ओमिक्रोनको संक्रमणले अहिले कडा खालको असर नगरेको पाइए पनि यो छिटो फैलने र धेरैलाई संक्रमित गराउने बताउनुभयो ।

खोप नलगाएका, खोप लगाएपनि दीर्घ रोग भएका व्यक्तिमा यसले नराम्रो असर गरिरहेको पनि उहाँले बताउनुभयो । भाइरस जति छिटो फैलन्छ र जति धेरै जनामा पुग्छ यो त्यति धेरै आनुवांशिक परिवर्तन हुने र संक्रामक हुने सम्भावना रहेको पनि संगठनले जनाएको छ ।

अहिले नरम देखिएको भाइरस पुनः संक्रामक र घातक हुनसक्ने सम्भावना रहेकोले भाइरस फैलिन नदिने तर्फ सबैलाइ सजग हुन पनि उहाँले आग्रह गर्नुभएको छ । साथै, डा. आलिसान गोकोतानोले भाइरसको संक्रमणलाई रोक्न र धेरैमा फैलन नदिन खोपले महत्वपूर्ण भुमिका खेल्ने भएकोले सबैले खोप लगाउनुपर्नेमा पनि जोड दिनुभएको छ ।