
काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लिएर निर्वाचन गराउने प्रमुख संवैधानिक निकाय निर्वाचन आयोग र सरकारबीच द्वन्द्व सिर्जना हुने देखिएको छ ।
सरकार र आयोग दुवै पक्षको सहकार्य र समन्वयमा मात्रै निर्वाचन सम्पन्न हुन सक्छ तर स्थानीय तह निर्वाचनको विषयलाई लिएर आयोग र सरकारबीच सहकार्य र समन्वयभन्दा पनि द्वन्द्व र वैमनस्यता बढ्ने देखिएको छ ।
निर्वाचन आयोगले राजनीतिक दलहरूसँगको छलफलकै आधारमा स्थानीय तहको निर्वाचन आगामी वैशाख १४ र २२ गते गर्न सरकारलाई प्रस्ताव गरिसकेको छ । तर सरकारले आयोगको प्रस्तावलाई रद्दीको टोकरीमा मिल्काएर आयोगले प्रस्ताव गरेको भन्दा पाँच महिनापछि स्थानीय तहको निर्वाचन गराउने गृहकार्यमा जुटेपछि सरकार र आयोगबीच द्वन्द्व देखिएको हो ।
कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीलगायत अन्य सत्तारूढ दलको आइतबार बसेको बैठकले स्थानीय तहको निर्वाचन वैशाखमा नभई असोजमा गर्नुपर्ने निष्कर्ष निकाल्दै सोहीअनुसार आवश्यक कानुन संशोधन गर्ने निर्णय गरेको थियो । सत्तारूढ गठबन्धनको सो निर्णयको चौतर्फी आलोचनासमेत हँुदै आइरहेको छ ।
सरकारले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्ने बताए पनि निर्वाचन आयोग भने कानुन संशोधन गर्ने पक्षमा छैन । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा हालका स्थानीय तहका पदाधिकारीको पदावधि आगामी २०७९ साल जेठ ५ मा समाप्त हुने व्यवस्था गरिएको छ ।
सोही ऐनअनुसार पनि जेठ ५ अघि नै स्थानीय तहमा नयाँ पदाधिकारी निर्वाचित भएर आउनुपर्ने आयोगको जोड छ ।
तर, सत्तारूढ गठबन्धनले भनेअनुसार नै स्थानीय तहको निर्वाचन असोजमा गर्ने हो भने त्यस अवधिसम्म स्थानीय तह पदाधिकारीविहीन हुने र स्थानीय तह पदाधिकारीविहीन हुने विषय संविधानविपरीत हुने तर्क आयोगका पदाधिकारीको छ ।
‘स्थानीय तह पदाधिकारीविहीन हुन नपरोस् र संघीय शासन प्रणालीमा कुनै प्रश्न सिर्जना हुन नसकोस् भनेरै हामीले वैशाखमा निर्वाचनको प्रस्ताव गरेका हौ ।’ निर्वाचन आयोगका एक आयुक्तले राजधानीसँग भने । उहाँले आयोगको प्रस्तावविपरीत निर्वाचन असोजमा सार्ने काम गरिए त्यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्मविपरीत हुने दाबी गर्नु भयो ।
नेपालको संविधान २०७२ ले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारलाई दिएको छ तर सोही संविधानले नै सरकारले त्यसरी मिति तोक्नुअघि अनिवार्य रूपमा निर्वाचन आयोगसँग परामर्श लिनुपर्ने विषयलाई पनि बाध्यकारी बनाएको छ ।
त्यसैले सरकारले पनि आयोगको परामर्शबिना निर्वाचनको मिति तोक्न नसक्ने भएकाले सरकारलाई पनि असोजमा निर्वाचन गराउन सहज भने छैन् ।
पूर्वप्रमुख आयुक्तहरू भन्छन् ‘वैशाखमा नै गराउनु उपयुक्त’ हुन्छ । त्यसैगरी अहिले संविधानको मर्म र स्थानीय निर्वाचन ऐनसम्बन्धी व्यवस्थाअनुसार वैशाखभित्रै निर्वाचन भएर जेठ ५ गतेसम्म नयाँ पदाधिकारी आइपुग्नुपर्ने भएकाले पनि आयोग सोहीअनुसार निर्वाचनको तयारीमा जुटिसकेको छ तर सरकारले अन्योल सिर्जना गरेपछि आयोग सरकारसँग असन्तुष्ट बनेको छ ।
प्रतिक्रिया दिनुहोस्