प्रदेश सरकारको बेवास्ताले ‘लथालिंग’ बनेको चरिकोट अस्पताल बन्द हुने अवस्थामा « Imagekhabar – Online News Portal of Nepal


प्रदेश सरकारको बेवास्ताले ‘लथालिंग’ बनेको चरिकोट अस्पताल बन्द हुने अवस्थामा


416
Shares

काठमाडौं । सरकारी बेवास्ता र चरम लापरबाहीका कारण व्यवस्थापन लथालिंग बनेको वागमती प्रदेश सरकारको प्रदेश स्तरीय सरकारी अस्पताल बन्द हुने अवस्थामा पुगेको छ ।

वागमती प्रदेश सरकार मातहत रहेको दोलखा सदरमुकाम स्थित ५० शैयाको चरिकोट प्रादेशिक अस्पताल सञ्चालनमा प्रदेश सरकारकै बेवास्ता र चरम लापरबाहीका कारण अस्पतालको व्यवस्थापन लथालिंग बन्न पुगेको हो ।

आफू मातहतको सरकारी अस्पतालमा वागमती प्रदेश सरकारले अहिलेसम्म प्रदेशका सरकारी जनशक्ति खटाउन सकेको छैन । अस्पताल प्रमुखसहितका जनशक्ति नहुँदा अस्पतालको खाता सञ्चालन हुन सकेको छैन भने दैनिक खर्च टार्नै मुश्किल छ ।

स्थानीय भीमेश्वर नगरपालिकाले आफ्ना कर्मचारीको तलब रोकेर सापटीका रुपमा अस्पतालका कर्मचारीलाई ५ महिना यता तलब खुवाइरहेको छ। प्रदेशको लापरबाहीले बजेट निकासा नआउँदा दैनिक सेवा सुविधामा अवरोध पुग्न थालेको छ ।

अब पनि बजेट नपठाए यहि माघ महिनादेखि आफूले अस्पतालमा तलब खुवाउन नसक्ने र सेवा बन्द हुने चेतावनी नगरपालिका कार्यालयलाई दिएको छ ।

व्यवस्थापन कमजोर हुँदा कर्मचारीहरुबीच टकराव बढेको छ भने कतिपय सेवा सुरु गर्न नसक्दा केही मेसिन र उपकरणहरु थन्किएर खिया लाग्ने अवस्थामा पुगेका छन् ।

भद्रगोल तरिकाबाट अस्पताल चलेकाले बिरामीहरु सेवामा अस्पताल भित्रै ठगिएको गुनासो समेत बढ्न थालेका छ ।


नागरिक