टिचिङमा तीनवटा वार्ड बन्द, वीर र प्रहरी अस्पतालमा वार्ड गाभेर सेवा « Imagekhabar – Online News Portal of Nepal


टिचिङमा तीनवटा वार्ड बन्द, वीर र प्रहरी अस्पतालमा वार्ड गाभेर सेवा


6.097k
Shares

काठमाडौं । डाक्टरलगायत स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि देशका ठूला अस्पतालमै स्वास्थ्य सेवा प्रभावित भएको छ । एउटै अस्पतालभित्र एकैपटक धेरै स्वास्थ्यकर्मीमा संक्रमण फैलिँदा केही वार्ड नै बन्द गरिएका छन् । केही अस्पतालले वार्डहरू गाभेर स्वास्थ्यकर्मीलाई ‘डबल ड्युटी’मा खटाएर सेवा दिइरहेका छन् ।

स्वास्थ्यकर्मी र कर्मचारी गरी पाँच सयभन्दा बढी संक्रमित भएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ननकोभिड (कोरोनाबाहेक रोगको उपचार हुने) उपचारका तीनवटा वार्ड बन्द गरिएका छन् ।

अस्पताल प्रशासनका अनुसार श्वासप्रश्वास, स्नायु प्रणाली र पुरुष शल्यचिकित्सासम्बन्धी वार्ड बन्द गरिएको हो । तीन सय नर्सिङ स्टाफ, एक–एक सय डाक्टर र अन्य कर्मचारीमा संक्रमण भएकोमा हाल दुई सय ५० सक्रिय संक्रमित रहेको अस्पतालका कोभिड वार्ड संयोजक सन्तकुमार दासले बताए । यीमध्ये ९५ जना अस्पतालकै आइसोलेसन कक्षमा छन् । अधिकांश स्वास्थ्यकर्मी संक्रमणमुक्त भई छोटो समयमै काममा फर्किन सकेकाले भयावह अवस्था व्यहोर्नु नपरेको दासले बताए ।

एकैपटक ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि वीर र नेपाल प्रहरी अस्पतालले भने वार्डहरू गाभेर सेवा दिएका छन् । नेपाल प्रहरी अस्पतालले सोमबारदेखि ओपिडी सेवा गर्ने निर्णय गरेको छ । कोभिडका बिरामीको भर्नादर बढ्न थालेपछि दुई–तीनवटा वार्ड एकै ठाउँमा गाभेर सञ्चालन गर्न थालिएको डिआइजी डा. सुन्दर हैजूले बताए । अन्य केही सेवा तत्कालका लागि कटौती गर्ने निर्णय भएको पनि उनको भनाइ छ । यहाँ ७६ स्वास्थ्यकर्मी तथा कर्मचारी कोरोनाबाट संक्रमित छन् ।

नयाँ पत्रिका