
काठमाडौं । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार नै कोरोना संक्रमणको हट स्पट बनेको छ । सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये करिब ४० प्रतिशत कोरोना संक्रमित भएको एक सरकारी निकायको अनुमान छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सिंहदरबारभित्र कार्यरत कर्मचारीमध्ये करिब ४० प्रतिशतमा कोरोना संक्रमण भएको अनुमान गरिएको बताउनु भयो ।
‘पिसिआर गरेका कर्मचारीको रिपोर्टको आधारमा अनुमान गरेको उहाँले बताउनु भएको हो । पिसिआर नगरेका कर्मचारीसमेत जोड्दा आधाजति कर्मचारीमा कोरोना संक्रमण भएको अनुमान भएको उहाँले बताउनु भयो ।
सिंहदरबारभित्र करिब ५ हजार कर्मचारी कार्यरत छन्। सो ठाउँमा प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालय समेत रहेका छन् । यसैगरी राष्ट्रिय योजना आयोग, वित्त आयोग, नेपाल टेलिभिजन, रेडियो नेपाल गरी करिब ३० वटा कार्यालय छन् ।
मन्त्रालयपिच्छे क्यान्टिन पनि राखिएका छन्। सामान्यतया एउटा कार्यालयमा १ सय २० जनादेखि १ सय ५० जनासम्म कर्मचारी कार्यरत हुन्छन् ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार सामान्यमा मात्रै ४० जना कर्मचारी संक्रमित छन्। यसैगरी प्रधानमन्त्री कार्यालयमा ४० प्रतिशत कर्मचारी संक्रमित छन्। १० जना सचिवमा संक्रमण देखिएको छ ।
यसैगरी राजपत्रांकित द्वित्तीय श्रेणी (सहसचिव) सरहका ३ दर्जनभन्दा बढी कर्मचारी संक्रमित छन ्। उपसचिव, शाखा अधिकृत, नायब सुब्बासरहका कर्मचारीमा ठूलो संख्यामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यो समाचार नागरिक शनिबारमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्