काठमाडौं । बजारमा सिटामोलको अभाव भएपछि नेपाल औषधि लिमिटेड र नेसनल हेल्थ फर्माले एक महिनाभित्र ४० लाख ट्याब्लेट सिटामोल बजारमा पठाउने जनाएका छन् । औषधि लिमिटेडले ३० लाख र नेसनलले १० लाख ट्याब्लेट उत्पादन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
सिटामोलमा घाटा रहेको भन्दै लिमिटेडले १५ दिनदेखि उत्पादन बन्द गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सिटामोललगायत औषधिको सहज आपूर्ति व्यवस्था मिलाउन बुधबार मात्रै गृहमन्त्री बालकृष्ण खाँण र मुख्यसचिव शंकर बैरागीलाई निर्देशन दिएका थिए ।
मूल्यवृद्धिका लागि अभाव सिर्जना गरिए पनि सरकार संवेदनशील हुन नसकेको आरोप लागिरहेको छ । ‘प्रधानमन्त्रीज्यूले औषधिको उत्पादन क्षमता बढाउन पनि निर्देशन दिनुभएको छ,’ गृहमन्त्री खाँणले भने, ‘हामीले नेपाल औषधि लिमिटेड र निजी उत्पादक कम्पनीलाई औषधि उत्पादन बढाउन भनिसकेका छौं ।’ प्रधानमन्त्रीको निर्देशनपछि मुख्यसचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन र आपूर्ति तीव्र पार्न निर्देशन दिएका थिए ।
लगत्तै औषधि व्यवस्था विभाग, औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्तासहित भएको छलफलमा दुई कम्पनीले बिहीबारबाटै बजारमा औषधि पठाउने प्रतिबद्धता जनाएका हुन् । यी दुईबाहेक अन्यले पनि आवश्यकता र क्षमताअनुसार उत्पादन गरेर बजारमा पठाउने प्रतिबद्धता जनाएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।
‘कच्चा पदार्थको उपलब्धताअनुसार सबै क्षेत्रले उत्पादन बढाउने, पैठारीकर्ताले ल्याएर बिक्री गर्ने, आ–आफ्नो क्षेत्रमा सबैले पहल गरी समग्र आपूर्ति व्यवस्थालाई सहज बनाउने सहमति भएको छ,’ महानिर्देशक ढकालले भने, ‘उत्पादक संघले सबैलाई उत्पादन बढाउन आह्वान गरेको छ । व्यावसायिक संघले वितरण व्यवस्थापन मिलाउने प्रतिबद्धता जनाएका छन् । सम्भवतः शुक्रबारसम्म सिटामोलको आपूर्तिमा देखिएको समस्या समाधान हुन्छ ।’










प्रतिक्रिया दिनुहोस्